काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएसँगै उनको पद जोगिएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।
अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए।