काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारको ६ महिने समीक्षा गरेको छ । कांग्रेसले पार्टी पदाधिकारी, सांसद र मन्त्रीसँग सरकारको समीक्षात्मक छलफल गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, मन्त्रि तथा सांसदहरुलाई बेग्ला–बेग्लै छलफल गरेका थिए । सभापति देउवाले पदाधिकारीसँग छलफल गरेपछि मन्त्री र सांसदसँग छलफल गरेका हुन् ।
समीक्षात्मक छलफलमा मन्त्रीहरुले सोंचेअनुसार काम गर्न नसकेको र अप्ठ्यारो अनुभूति गरेको कुरा ब्रिफिङ गरेका छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएअनुसार कामलाई कसरी सहजीकरण गरेर जाने भन्ने कोणबाट छलफल पनि भएको छ ।
“कति कुराहरु सोंचेअनुसार फास्ट हुनुपर्ने, त्यो कुराहरु कुनै न कुराबाट कहीँ न कहीँबाट अप्ठ्यारा महसुस हाम्रा साथीहरुले गर्नुभएको छ”, छलफलबारे मन्त्री चौधरीले भनेका छन्, “अब कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल भएको छ ।”
गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकका अनुसार बैठकमा गुनासासँगसँगै सम्भावनाको विषयमा छलफल भएको छ । गठबन्धन तोड्न नहुने कोणबाट सबै मन्त्रीहरुले धारणा राखेको उनले बताए ।
“मन्त्रालयगत अप्ठ्यारा के हुन् त्यसमा छलफल भयो”, लेखकले भनेका छन्, “डेलिभरीको सवालमा कता–कता समस्या देखिए, त्यसलाई फुकाएर जानुपर्छ भन्ने कुरामा छलफल भएको छ ।”
बैठकमा अध्यादेशका विषय त्यति धेरै प्राथमिकतामा नपरेको नेताहरुले बताएका छन् । कांग्रेससँग नै छलफल गरेर ल्याइएको कारण त्यसको विरोध गर्न नहुने धारणा नेताहरुले राखेका छन् ।
पार्टी सभापति देउवाले ७ बुँदे सहमतिको विकल्प खोज्ने अवस्था नरहेको कुरा नेता तथा मन्त्रिहरुलाई ब्रिफिङ गरेका छन् । मन्त्री लेखकले बताएअनुसार दुई दलको बिचमा अविश्वासको वातावरण पैदा गर्ने गरी नलाग्न देउवाले निर्देशन दिएका छन् ।
“एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो, मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस्, हामी दुई दलबीचमा कुनै समस्या छैन”, देउवाले दिएको निर्देशनबारे लेखकले भने ।