काठमाडौं । नइ प्रकाशनको अक्षय कोषको अभिवृद्धिका लागि इन्जिनियर द्वय दीपकराज प्रसाई तथा जुली प्रसाईले बाह्र लाख रुपियाँ प्रदान गरेका छन् । उनीहरूबाट अघिल्लो पटक छ लाख रूपियाँ प्राप्त भएको प्रकाशनले जनाएको छ ।
नइ प्रकाशन र इन्जिनियर दीपकराज प्रसाईका आमा धनमाया प्रसाई र बुबा रूपनारायण प्रसाईका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको ‘नइ धनरूप पुरस्कार’ काठमाडौं उपत्यका बाहिरका नेपाली भाषा साहित्यमा सेवारत एक जना स्रष्टालाई प्रदान गरिदै आएको छ ।
केही वर्षअघिदेखि जनही एक लाख रुपियाँ राशि भएको ‘नइ धनरूप पुरस्कार’ हालसम्म ७ जना स्रष्टालाई प्रदान गरिएको छ । एक वर्ष बिराएर प्रदान गरिदै आएको ‘नइ धनरूप पुरस्कार’ यस वर्षदेखि हरेक वर्ष समर्पण गरिने प्रकाशनले जनाएको छ ।
हालसम्म ‘नइ धनरूप पुरस्कार’ प्राप्त गर्नेको विवरण यस प्रकार छ :
१. प्रा.डा.कपिल लामिछाने, भैरहवा (२०७०)
२. श्री तेजराज खतिवडा, झापा (२०७१)
३. श्री गणेशबहादुर राई, ताप्लेजुङ (२०७२)
४. श्री अजम्बरध्वज खाती, बुटवल (२०७३)
५. श्री देवीप्रसाद वनवासी, स्याङ्जा (२०७५)
६. श्री जङ्गबहादुर शाह, भैरहवा (२०७७)
७. श्री विश्वप्रेम अधिकारी, स्याङ्जा (२०७९)