काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ।
माओवादीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुनरागमनको चर्चासंगै नेताहरुको जिम्मेवारी हेरफेरमा पुन केन्द्रमा रहेको माओवादी स्रोतले बताएको छ । पुनलाई जिम्मेवारीसहित पार्टी भित्र्याउने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको स्रोतको दाबी छ ।
गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो (बुधबार) बसेको पदाधिकारी बैठकमा सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पेस भएको हो।
सचिव लीलामणि पोखरेलेले बैठकमा कार्ययोजना र कार्यविभाजनाबारे सामान्य छलफल सुरुवात मात्रै भएको बताए।
उनले भने, ‘पदाधिकारी बैठकमा कार्ययोजना र कार्यविभाजनबारे सामान्य छलफल सुरुवात भएको छ। ६ गते फेरि बैठक बस्दै छ। त्यस दिन टुंग्याउने भन्ने छ।’ उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिने विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको बताए ।
कार्ययोजना र कार्यविभाजनबारे पदाधिकारीहरूको हिजोको बैठकमा सुझाव दिएको उनले बताए । कार्यविभाजन टुंग्याउँदा अखिल क्रान्तिकारीमा उमेर हद लागू भएपछि नेतृत्वको दौडबाट बाहिरिएको नेताहरूको व्यवस्थापनबारे पनि निर्णय गर्नेछ ।
माओवादीको केन्द्रीय कमिटी बैठकले ६ महिना जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि अर्को ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ।