को हुन् मन्त्री खड्कालाई मन्त्रालयमै हातपात गर्ने व्यक्ति ?-Sutra News

को हुन् मन्त्री खड्कालाई मन्त्रालयमै हातपात गर्ने व्यक्ति ?

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो ।



पुस २६ गते शुक्रबार भएको घटना मन्त्री खड्काले आज(बिहिबार) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेर मात्र सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ । सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई समातेका थिए । मानसिक समस्या भएको व्यक्ति भनेपछि छोड्न भनेको हूँ ।

त्यसपछि गृहमन्त्री रमेश लेखकले आफूलाई उक्त कुराको जानकारी किन नगराएको ? भनी खड्कालाई प्रश्न गरेका थिए । लेखकले सोधेपछि मन्त्री खड्काले घटना सामान्य भएकाले खबर नगरेको भन्ने जवाफ फर्काएका थिए । गृहमन्त्री लेखकले भने आफूमाथि हातपात भएको घटनाको बारेमा मन्त्रीले नै झन्डै हप्तादिनसम्म किन लुकाएको ? भनी प्रश्न गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

त्यसरी आक्रमण गर्ने व्यक्तिको नाम आफूलाई थाहा नभएको बताएका खड्काले ती व्यक्तिले गोरखामा गत निर्वाचनमा उम्मेदवार रहेको र पोखरेल थरको भएको मात्रै आफ्नो स्मरणमा रहेको बताए । सिंहदरबार सुरक्षामा खटिएका प्रहरी स्रोतका अनुसार मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका ५, मुच्चोकका हरि पोखरेल हुन् ।

पोखरेल २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशसभा सदस्यको उम्मेदवार थिए । निर्वाचन आयोगको विवरणअनुसार उनी गोरखाको निर्वाचन क्षेत्र २(२) बाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।

नेपाल टेलिभिजको कार्ड बोकेर छिरेका थिए सिंहदरबार
पोखरेलले नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । उनीबाट प्रहरीले बरामद गरेको कार्डको किसिममा ‘निर्माता- पब्लिक स्पिकर नेपाल’लेखिएको छ ।

पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर, पछि मन्त्री खड्काको ‘आदेश’ मा प्रहरीले पोखरेललाई छोडेका थियो । ‘माथिबाट छोड्ने भन्ने आदेश आएको थियो एक दिन थुनेर शनिबार छोड्यौं,’ वृत्तका एक प्रहरी अधिकारीले भने, ‘ऊर्जा मन्त्रालयबाटै आदेश आएपछि छोडेका हौं ।’

प्रहरी स्रोतका अनुसार यो घटनाबारे वृत्तका प्रहरी अधिकारीले माथिल्लो तहमा पनि जानकारी गराएका थिए । तर मन्त्री खड्काले आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही नगर्न प्रहरीलाई ठाडो आदेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट