तत्काललाई टर्‍यो ओलीको चिन्ता-Sutra News

तत्काललाई टर्‍यो ओलीको चिन्ता

बिहिबार, ३ माघ २०८१

बिहिबार, ३ माघ २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले तत्काल केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प नखोज्ने सन्देश दिएको छ । बिहीबार झण्डै ५ घण्टासम्म चलेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले ओली सरकारलाई नै निरन्तरता दिने निर्णय सुनाएको हो ।



विपक्षी दलहरुले ओली सरकारको आयु गनिरहँदा कांग्रेस भित्रैबाट सरकारको विकल्प खोज्नुपर्ने धारणा आउन थालेको थियो । जसले ओली सरकारको आयुमाथि गम्भीर रुपमै प्रश्न उठाएको थियो । यद्यपि, बिहीबार ५ घण्टासम्म चलेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तत्कालका लागि सत्तामाथि उठेको प्रश्नलाई थाँति राखिदिएको छ ।

असार १७ मा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको ७ बुँदे सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३० मा नियुक्त ओलीले ६ महिने कार्यकाल बिताएका छन् ।

तर, ओलीको ६ महिने कार्यकाल निरन्तरता बाहेक उपलब्धिको हिसाबले गणना गर्न योग्य छैन । विपक्षी दलहरु मात्रै होइन, स्वयं सत्तारुढ दलहरुले पनि सरकारको समालोचना गर्ने स्थिति देखिन्न ।

प्रधानमन्त्री ओली स्वयंले पनि आफू पास हुन नसकेको कुरा गरेका छन् । उनी आफैंले आफू नेतृत्वको सरकारको काम गराईप्रति असन्तुष्टि जनाएका छन् । यस्तोमा आलोचकहरुले आलोचना नगर्ने भन्ने हुँदैन ।

प्रष्ट रुपमा, सरकार चौतर्फी हिसाबले असफल मात्रै छैन, बदनामित पनि छ । विशेषगरी सुशासनको सन्दर्भमा सरकार एकपछि अर्को गरी प्रश्नले घेरिएको छ । सँगै, सामान्य डेलिभरीको सन्दर्भमा पनि सरकार चुकेको देखिन्छ ।

६ महिनाको शासनकाललाई आन्तरिक रुपमा गणना योग्य बनाउन नसकेको सरकारले बाह्य सम्बन्धमा पनि निकै कमजोर प्रदर्शन गरेको छ । विशेषगरी छिमेक सम्बन्धमा सरकार निकै असफल देखिन्छ ।

आज ओली सरकारलाई न त भारतले विश्वास गरेको छ न त चीनले । अन्य छिमेकी देशसँगको सम्बन्धमा पनि सरकारले प्रगति गर्न सकेको देखिन्न । यस्तोमा सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने माग उठ्न थालेको थियो । स्वयं देउवा पक्षीय केही नेताहरुले खुलेरै सरकारको विकल्पबारे बोल्न थालेका थिए ।

तर, बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले असन्तुष्टिलाई मथ्थर मात्रै पारेन, विकल्प खोज्नेलाई मौन बनाइदिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रष्टरुपमा सरकारको विकल्प खोज्न नसकिने सन्देश नेताहरुलाई सुनाएका छन् ।

देउवाले असन्तुष्टहरुका भनाईलाई सुने पनि नेतृत्वको रुपमा निर्देशन दिएर असन्तुष्टिहरुलाई दबाइदिएका छन् । सरकारमै सहभागि केही मन्त्रीले ओलीसँग काम गर्न असाध्यै गाह्रो परिरहेको ब्रिफिङ बैठकमा गरेका थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्रीको हस्तक्षेपले निकै असहज बनिरहेको बिफ्रिङलाई देउवालाई सुनाएका थिए ।

“प्रधानमन्त्रीको हस्तक्षेप धेरै नै छ, सबै ठाउँमा उहाँकै मान्छे राख्नुपर्छ, मेरोमा मात्रै होइन, अन्य साथीहरुको सन्दर्भमा पनि प्रधानमन्त्रीबाट यस्तै समस्या छ”, चौधरीले देउवालाई ब्रिफिङ गर्दै भनेका छन् ।

केही समयअघि स्वयं देउवा पत्निसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले मन्त्रालयगत काममा प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि पोखेको विषय बाहिर आएको थियो । जुन घटनापछि ओलीलाई भेट्न देउवा पुगेका थिए ।

यद्यपि, बिहीबारको बैठकमा उठेको प्रश्नमा भने देउवाले कुरा सुनेपनि खास जवाफ भने नदिएको बुझिएको छ । छलफलमा सहभागि एक नेताले बताएअनुसार देउवाले ‘मिलाएर जानुपर्छ’ भन्ने आशय व्यक्त गरेका छन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकसहित एक/दुई मन्त्री सरकारको खुलेर प्रशंशामा देखिँदा अन्यले खास आलोचना गरेका थिए । यद्यपि, कुरा सुनेका देउवाले आफ्नै सुरमा मन्त्रीहरुलाई निर्देशन मात्रै दिएका छन् । उनले ७ बुँदेबाट तलमाथि गर्ने अवस्था नरहेको र सहमतिको स्प्रीट अनुसार नै अघि बढ्न मन्त्रीहरुलाई निर्देशन गरेका छन् ।

“एमाले र कांग्रेसबिच भएको ७ बुँदे सहमतिमा अघि बढ्ने हो, मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो, यसमा केन्द्रित भएर काम गर्नुस्, हामी दुई दलबीचमा अहिले तत्काल कुनै समस्या छैन”, देउवाले गरेको निर्देशनबारे गृहमन्त्री रमेश लेखकले भनेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढल्नै लागेको भन्ने अभिव्यक्ति सार्वजनिक गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सत्ता हेरफेरको संकेत गर्दै ‘सत्तामा उथलपुथल’ हुँदै गरेको बताएका थिए । जसको पृष्ठभूमिमा कांग्रेस नेताहरुको पनि अभिव्यक्ति बाहिर आउन थालेको थियो ।

अहिले एकातिर माओवादी केन्द्रको नेतृत्वमा विपक्षी दलहरु संगठित भएका छन् भने अर्कोतिर मधेशवादीको नाममा मधेशवादी दलहरु संगठित भएका छन् । माओवादी केन्द्रले समाजवादी मोर्चालाई पनि सक्रिय बनाएको छ । जसका बिच विकास भएको घटनाक्रमले सत्ता फेरिँदै गरेको संकेत गरेको थियो ।

तर, एकाएक विकसित घटनाक्रमका बिच देउवाले भने बैठक राखेर ओली सरकार नफेरिने संकेत बलियो गरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार