काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) पनि स्थानीय बजारमा सुनको मूल्यमा उच्च अंककाे बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १ हजार ३ सय रुपैयाँले मूल्य बढेको हाे ।
महासंघका अनुसार यसअघि बिहीबार प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेको थियो ।
मूल्य बढेसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
पछिल्लो तीन कारोबार दिनकै बिचमा २९ सय रुपैयाँले मूल्य बढेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि निरन्तर उकालोमा छ । बिहीबार प्रतितोला ५० रुपैयाँले बढेको चाँदीको मूल्य शुक्रबार प्रतितोला १० रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८९० रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २७१४ डलरमा किनबेच भइरहेको छ । जुन बिहीबारको तुलनामा १९ डलरले बढी हो ।