काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भएका पूर्वउपाध्यक्ष डा. भीम रावल मातृभूमि जागरण अभियान लिएर देश दौडाहामा छन् ।
अभियान सञ्चाल गर्ने सिलसिलामा वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने रावलले सार्वजनिक गरेको अवधारणामा उल्लेख छ। जुन तहको भेला हुन्छ सोही तहको संगठन निर्माण गर्ने अभियानको योजना छ । सो अभियानलाई पार्टीमा परिणत गर्ने तयारी नेता रावलको रहेको छ ।
अवधारणा पत्रमा संगठनको स्वरूप पनि उल्लेख छ। धेरै भन्दा धेरै मानिसहरूलाई समेट्ने किसिमले संगठन बनाउने अभियानको योजना छ।
मातृभूमि जागरण अभियान राखेर तहगतरूपमा तदर्थ समिति बनाउने अभियानको योजना छ। उक्त समितिमा एक जना संयोजक र एकजना सदस्य सचिव राख्ने तथा अरू सबै सदस्य रहने अवधारणा पत्रमा उल्लेख गरिएको छ।
उक्त तदर्थ समितिमा सदस्यको संख्या १५ देखि २५ जनाको रहने र यसभन्दा बढी मानिसहरूलाई समेट्नु पर्ने भएमा सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने अवधारणा अघि सारिएको छ।
परिषदबाटमाथि समिति गठन गर्ने र समितिको संयोजक र सदस्य सचिव नै परिषद्को संयोजक र सदस्य सचिव रहने पनि उल्लेख छ।