काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको सामाखुसी नदीमा ढल राख्ने काम धमाधम भइरहेको छ । नदीलाई आफ्नै वास्तविक स्वरुपमा बग्न दिनुपर्छ भन्दै नदी छेउछाउका अतिक्रमित जमिन फिर्ता ल्याउने कामलाई जोडतोडका साथ अगाडी बढाएका महानगरका मेयर बालेन्द्र शाह (बालेन) सामाखुसी नदीलाई खुम्चाउने कार्य हुँदासमेत मौन देखिएका छन् ।
कामनपा २६ हुँदै बग्ने सामाखुसी नदीमा यति बेला नदीलाई नै साँघुराउने गरी ढल राख्ने काम भईरहेको छ । हिउँदको समयमा सामान्य देखिए पनि वर्षातमा भेल बाँढी नै आउँने उक्त नदीलाई खुम्चाउँदै गर्दा थप जटिलता थपिदै गएको प्रति स्थानिय चिन्तित छन् । यस्तो कार्यले थप खतरा बढेको स्थानीयको गुनासो छ । नदीमा काम भइरहँदा स्थानीय जनप्रतिनिधिको उपस्थीति नरहेको स्थानियले बताएका छन् ।
महानगरपालिकाको आन्तरिक स्रोतबाट भइरहेको उक्त कार्यमा वडा नं. २६ का वडाध्यक्ष खेम तिवारीसमेत उपस्थीति नभएको स्थानियले बताएका छन् । नदिलाई ढलमुक्त गर्नका लागि दुई किनारामा ढल राख्नु राम्रो भएता पनि त्यस कार्यले नदीको क्षेत्रफल साँघुरीने हुँदा वार्षामा नदीको पानी जमिनको सतह भन्दा माथि आउँन सक्ने हुँदा त्यसले थप क्षती निम्त्याउने स्थानीयहरुको गुनासो रहेको छ ।
नदी किनाराका एक स्थानीयले हामिसंगको कुराकानीमा भने, ‘नदीमा धमाधम काम भइरहेको छ । ढल राखिरहेका छन् । यस्तो गतिविधिले हामि अन्योलमा छौँ । तर वडाध्यक्ष, मेयर कोहि पनि यहाँ देखिएको छैन् । के र कस्तो उदेश्यले कसले काम गरिरहेको छ त्यो पनि हामिलाई थाहाँ छैन ?’
‘हाम्रै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हरी प्रभा खड्गी अहिले मन्त्री हुनुभएको छ । उहाँ यहाँ एक पटक आउँनु भएको छ । त्यसपछि हामिले देखेका छैनौँ ।’ एक स्थानीयले बताए ।
नदीलाई बिचमा बग्न दिएर दायाँबायाँ ढल राख्ने काम भैरहेको त छ तर मुहानबाट सुरु गर्नुपर्ने ठिक उल्टो भएको स्थानिय गौरिमान प्रधानले बताए । आउने बर्खासम्म यो काम सकिने सम्भावना नरहेको र स्थानीय उपभोक्ताले बाटोको कारण निकै दुख पाउनेसमेत उनले बताए । नदीको मुहानबाटै यो काम भएको भए पनि ठिक हुन्थ्यो तर बिचबाट भएको यस्तो कार्यले जोखिम बढाएको प्रधानको भनाई छ ।
नदिको दायाँबायाँ ढल राखेर नदीलाई ढलमुक्त पार्न खोजे पनि अन्तत यो ढल फेरि बिष्णुमति मै गएर मिसाइन्छ भने कस्को स्वार्थमा र कस्लाइ ठेक्का दिन यो काम भएको हो भन्ने बारे स्थानीयले अनभिज्ञता जाहेर गरेका छन् । यो ढल यदि बिष्णुमतीमा नमिसाइ यस्लाइ चोभारसम्म छोपेर कटाउने हो र उपत्यकाको नदी संरक्षणको गुरु योजना अन्तर्गतको यो मेघा प्रोजेक्ट नै हो भने अत्यन्तै राम्रो कामको सुरुवात हो । तर नदी संरक्षणका नाममा विकास बजेटलाई जथाभावी खर्चिदा बाटो र पुलसमेत नभएका स्थानहरु विकासबाट बञ्चित हुने अवस्था रहन्छ ।