भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय-Sutra News

भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

शुक्रबार, ४ माघ २०८१

शुक्रबार, ४ माघ २०८१

काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।



न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने,“अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।” खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा हुनुहुन्छ र उहाँमाथि करिब दुई सय वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् ।

उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट