काठमाडौं । एमालेबाट निष्कासित नेता भीम रावलले नयाँ पार्टी निर्माणको अभियान चलाउँदै गर्दा एमालेभित्र हलचलको अवस्था देखिएको छ । एमालेभित्रको असन्तुष्ट समूह क्रमशः रावलको पक्षमा खुल्न थालेको छ ।
रावलले नयाँ पार्टी घोषणा गर्दा एमालेमा पहिरो ल्याइदिने चेतावनी दिएका थिए । कतै रावलले भने जस्तै एकीकृत समाजवादीको गठनपछि एमालेमा गएको पहिरो फेरि त जाँदैन ?
राष्ट्रवादी नेताको छवि बनाएका भीम रावल कुनै बेला एमालेभित्र निकै नै प्रभावशाली नेताको गन्तीमा आउँथे । झण्डै ५० वर्ष वामपन्थी राजनीतिमा बिताएका उनी एमालेभित्र पनि निकै लोकप्रिय नेताको रुपमा स्थापित थिए ।
तत्कालिन नेकपा (माले)भित्रकै बलिया रावल, पछि एमाले गठन भएपछि थप प्रभावशाली बन्दै गए । उनी २०५१ सालमै सांसद र मन्त्री बनेका थिए । मालेदेखि नै झलनाथ खनाल र माधवकुमार नेपालको निकै नजिक बनेका रावल एमालेभित्र सुदूरपश्चिमका क्षेत्रकै खम्बा नै थिए भन्दा अन्यथा हुँदैन ।
पटक–पटक सांसद, मन्त्री बनेका उनी एमालेभित्र पनि निकै महत्वपूर्ण जिम्मेवारीहरुमा पनि रहे । ओली पहिलो पटक पार्टी अध्यक्ष बन्दा रावल सबैभन्दा बढी मत पाएर उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
तर, एमालेभित्र बढी लोकप्रिय बन्नु पनि रावलको राजनीतिक जीवनका निम्ति भने घातक बन्दै गयो । पार्टीभित्र ओली हाबी हुँदै गर्दा उनी क्रमशः कमजोर बन्दै गए । विशेषगरी नेकपाको गठन र विघटनको खेलमा रावल थप किनारामा पुगे ।
चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा रावलले ओलीविरुद्ध पार्टी अध्यक्षमा उम्मेदवारी दिएका थिए । जुन निर्णय नै अन्ततः उनलाई एमालेबाट पाखा पन्छाउने मेसो बन्यो ।
महाधिवेशनमा आफूलाई चुनौति दिएपछि ओलीले रावललाई चिढ्याउने, जिम्मेवारी नदिने गर्दै आएका थिए । जसको बिच उनले राखेका असन्तुष्टिलाई लिपिबद्ध गरी ओलीले पार्टीबाटै निष्कासित गरिदिए ।
गत पुस १० मा बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो । ओलीले रावलसँगै अन्य नेतालाई पनि निकालेका छन् । एमालेबाट निष्कासित रावल अहिले नयाँ पार्टी गठनको अभियानमा जुटेका छन् । आफ्नो प्रभाव क्षेत्रबाट औपचारिकरुपमा पार्टीको घोषणा गर्ने तयारी रावलको देखिन्छ ।
पार्टी निर्माणको होमर्वक स्वरुप रावलले मातृभूमि जागरण अभियानको घोषणा गरेका छन् । उनले जुन अभियानको प्रारम्भिक प्रस्तावना पनि सार्वजनिक गरिसकेका छन् । उनले आफ्नो अभियानमा राष्ट्रवादीहरुलाई जोड्ने बताएका छन् । रावलले काठमाडौंका मेयर बालेन शाहदेखि विभिन्न नेताहरुलाई अभियानमा जोडिन आह्वान गरेका छन् ।
रावलले यसअघि नै नेपाली कांग्रेसबाट अलग्गिएको विपी कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए । अभियानको घोषणा गरी गृह प्रदेश पुगेका रावलले शुक्रबार धनगढी विमानस्थलमा भव्य स्वागत पाए । जसमा केही एमाले र केही एकीकृत समाजवादीका नेता तथा कार्यकर्तासमेत गएका थिए । रावललाई स्वागत गर्न एमाले नेता तथा पूर्वमन्त्री कृष्णराज सुवेदी टोलीसहित नै विमानस्थल पुगेका थिए । सँगै, विभिन्न जिल्लाका नेताहरु पनि स्वागतमा देखिएका थिए ।
रोचक कुरा, धनगढीको यात्रामा रावल र एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा एउटै सिटमा गए । श्री एयरलाइन्सको जहाजमा दुवै जना सँगै गएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । जसबारे नेता थापाले परिपक्क जवाफ दिएका छैनन् । तर, विगतमा रावलको पक्षमा देखिएका थापा फेरि रावलसँगै उभिन खोजेको संकेत आमरुपमा गएको छ ।
थापा एमालेभित्र ओली विरोधी नेता हुन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाएर ओलीलाई बिदा गर्नुपर्ने कुरा सार्वजनिकरुपमा बोलेका छन् । उनै थापासँगै देखिनुले थुप्रै संकेत गरेको छ । अहिले एमालेभित्र ठूलो विभाजनको स्थिति छ । अध्यक्ष ओलीले विरोधीलाई एकपछि अर्को गरी पार्टीबाट निष्कासनको अभियान चलाउँदा थुप्रै नेताहरु कि त एमाले छाड्ने अवस्थामा छन् कि त निष्क्रिय बन्ने स्थितिमा ।
यस्तो परिस्थितिमा रावलले पार्टी गठन गर्दै गर्दा उनीहरुको आगमन नहोला भन्न सकिन्न । काठमाडौंमा उनले गरेको पत्रकार सम्मेलन र सुदूरपश्चिममा उनले पाएको स्वागतलाई हेर्दा एमालेभित्रकै नेताहरु क्रमशः रावलको पक्षमा खुल्दै गरेको देखिन्छ ।
विगतमा एमालेको सुदूरपश्चिमको खम्बा भनेर चिनिने रावल फेरि सक्रिय हुँदा एमालेभित्र पहिरो नजाला भन्न सकिन्न ।