काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् ।
नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् ।
समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । १९ वर्षमुनिको महिला टी-२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।