मलाई जहाजमा अनायास जन्माएर आफू आकाशको उज्यालो संसारमा विलिन भएकी मेरी आमा कान्छीमाया राई, जस्को सम्झनामा यतिबेला मेरा गहका डिलहरु आसुले भिजिरहेछ मेरो परिचय यस्तो छ ।
म धनजीत राई, मनजीत राईको कान्छो छोरा । घर भोजपुर अन्नपूर्ण। त्यतिबेला बिराटनगर, धरान, धनकुटा, जरायोटार, प्याउली हुँदै बस भोजपुरसम्म आउन दस बार्ह घन्टा लाग्थ्यो।
सदरमुकामसम्म हिँडेर आउन दुई/तीन दिन लाग्थ्यो । यातायातको नाममा नेपाल वायुसेवा निगमको जहाज मात्रै विकल्प थियो। त्यो पनि सात दिन लगातार लाइन बसेपछि मात्रै हवाईजहाजको टिकट पाइन्थ्यो।
भोजपुर सदरमुकाम अस्पतालमा आमाले मलाई जन्माउन नसक्ने भएपछि अस्पतालले काठमाडौं लैजान नेपाल वायुसेवा निगमको दुइवटा विरामी सिटको व्यवस्था गर्न सिफारिस गरेको रहेछ । देशमा माओवादी द्वन्द्व व्यापक चर्किन थालिसकेको थियो। सबै मानिस भय र सन्त्रासको भूमरीमा बाँचिरहेका थिए । पुलिस प्रशासन असफल जस्तै भएपछि आर्मीहरू खटिएका थिए यो मुलुकको सुरक्षार्थ ।
गरिबीको रेखामुनी बाँचिरहेको मनजीत राईको छ जनाको परिवारमा मनजीत राई, कान्छीमाया राई र मेरा चार दिदीहरू थिए । बुबाले परिवार नियोजन गर्छु भन्दा पनि बडा बा पाबीहाङसँग बस्नु भएकी हाम्री कान्छी हजुरआमा सुम्निमा राईले “एउटा छोरा चाहिन्छ मनजीते परिवार नियोजन नगरेस्” भन्नु भएपछि बुवा अप्रेसन गर्न भनेर सदरमुकाम पुगेर पनि त्यतिकै फर्कनु भएछ ।
आफ्नो खेतबारीमा उब्जेको अन्नले चार महिना पनि खान नपुग्ने मेरो परिवार जीवन निर्वाहको लागि भीरमौरीको मह काट्ने, ढुङ्गा काट्ने, खोटाङ दिक्तेल बजारसम्म सिजनमा सुन्तलाको भारी बोक्ने काम गरेर जीविकोपार्जन गर्थ्यो ।
म आमाको पेटमा आइसके रहेछु । र एकचोटी सुन्तलाको भारी बोकेर दिक्तेल जाँदा साप्सु धापको खोल्सामा आमा लड्नु भएछ । सुन्तलाको डोको तल भीरमा खसेछ । पेटभित्र म थिए, मलाई बचाउन आमाले आफ्नो दुवै हात पेटमाथि राख्न भ्याउनु त भएछ तर ढुङ्गाको धारले उहाँको एउटा हात भाँचिएछ ।
आमा जंगलमा एक्लै रोइरहदा खोल्सीको पानीले आमा रोएको आँसुलाई बगाएको मैले भित्रै आमाको गर्भबाट अनुभूत गरिरहेको थिए । म आमाको गर्भभित्र आठ महिनाको थिए । मलाई सम्झना छ, आमाले दिल्पाको हाम्री ठूली आमाको दैलोमा सुन्तलाको भारी विसाउँदै “आज कति गहुङ्गो भाछ यो भारी, के गर्ने सुत्केरी खर्च जसरी पनि जम्मा गर्नु भन्नुभाछ हजुरको ज्वाइँले” भन्दै डबकामा आमाले पिउनु भएको अमिलो जॉडको स्वादले मेरा ओठ पनि भिजेका थिए ।
मलाई याद छ आमा! त्यो दिन नागी, चखेवा, मगुँडाँडाँ, सेल्मे पाखोबाट हिड्दै साप्सु धापमा पुगेपछि थाकेर हजुर चिप्लनु भएको । आमाका हातले बग्रेल्ती छरिएका सुन्तलाका सुनौला दाना टिप्न सकेनन् । हात पेटबाट बाहिर निकालेर आमाका आँसु पुछ्न मन लागेको थियो, खोल्सीको निर्मल पानीले आमाको पीडा धुन मन लागेको थियो अनि आमालाई पनि बोक्ने यो प्यारो साप्सुधापको माटोलाई एकचोटी म्वाई खान मन लागेको थियो।
धुपीको बोटले आमालाई भीरबाट तल खस्न बचाएको थियो, त्यो बोटलाई स्नेहले अँगालो हाल्दै रून मन लागेको थियो। पुनः त्यही बाटो हुँदै आमा दिल्पाको ठूलीआमाको घर आइपुग्नु भो।
टेम्केको क्षितिजबाट घाम ओरालो लाग्यो । ठूली आमाले आमाको हातमा चिप्ले किरा मारेर त्यसको लेदो कपडामा दलेर काम्रो बाँधिदिनुभयो । ठूली आमा पनि आमाको पछिपछि अन्नपूर्ण हाम्रो घरमा आउनुभयो । आमाको भाँचिएको हात देखेर बुवा आत्तिनु भो। पेटभित्र मलाई बचाउने आमाले आफ्नो ज्याला मजदुरी गरेर खाने हातै भाँच्नु भो।
ढुङ्गा गिटी कुटेर खाने मेरी आमाको हात, ढाकरमा सुन्तला बोकेर श्रम गरेर खाने मेरी आमाको हात थाहा थिएन अब कहिले निको हुने हो । सूर्य डुबेपछि नागीको चौरमा उफ्रिरहेका चौरीहरू अध्यारोमा हराए जस्तो लाग्यो ।
आमाको पेटको कलिलो छालाबाट छिरेका किरणका उद्भासित आभाहरू विलाउँदै गयो । चुहिदै गएको रातको निस्तब्धतासँगै मलाई अलि अलि ज्वरो आयो । मेरो ज्वरोसँगै आमालाई पनि सुत्केरी व्यथा लागेछ। म आमाको गर्भमा एउटा छोरो भएर बसेको रहेछु। उनले आफ्नो पेटमा यो पटक चाहिँ छोरा छ भन्ने थाहा पाएकी भए कति हर्षले गदगद् हुन्थिन होला ।
भाँचिएको हातको पीडासँगै ढुङ्गाको छातीमा बज्रिएको तिनको पेटभित्रको म अनि मसँगै दुखिरहेको तिनको पूरा शरीर सुत्केरीमय हुन थाल्यो ।
छिमेकीहरू आए, आमालाई सुत्केरी व्यथा लागेपछि डोकामा हालेर सदरमुकाम लैजान पर्छ भनेर बाले एउटा नयाँ डोको र नाम्लो जोगाएर राख्नु भएको रहेछ । डोकाभरि पुरानो कपडा र पराल खादियो अनि आमा तिनै कपडा माथि बीटमा ठड्याइएको काठमा समातेर बस्नु भो।
एउटा सफा मैनटोलको ज्योति हाम्रो अघि अघि लाग्यो । आमा भन्दा बा अलि जब्बर हुनुहुन्थ्यो। बालाई गाउँलेले सुनाएका थिए “कान्छीमायाको पेट सानो छ छोरो पाउँछे” भनेर । त्यही हौसलामा बाले आमालाई पहिला भन्दा माया पनि देखाउनु भएको थियो । जिविकोपार्जनका लागि आठ महिना लाग्दासम्म पनि मलाई पेटमा बोकेर आमाले गहुङ्गो सुन्तलाको भारीहरु बोक्नु भो। आमाको खानानै सुन्तला । सुन्तलाको गुलियो रस खान पाउँदा म पनि आमाको गर्भमा दङ्ग थिए ।
हाम्रा घरदेखि तल ऑपघरे साइला राईले बालाई भन्दै थिए….”‘मनजीते सदरमुकाम हस्पिटलमा बुहारी सुत्केरी हुन सकिनन् भने के विकल्प गर्ने ? काठमान्डाै पनि लाजुपर्ने हुन्छ है”…. आमालाई डोकोमा बोक्दै मैनटोलको धीमा उज्यालोमा फुर्तीले हिड्दै गरेका मेरा बाले भनेका थिए- “आजै काठमाडौबाट भोजपुर आरएनएसी को हवाइ जहाजको पालो पनि छ रे त्यसैमा कान्छीलाई उडाउनु पर्छ” । बाको निर्धक्कको त्यो फ़ुर्तिलो आवाज म आमाको तल्लो पेटमा पुगिसकेकोले सुन्दै थिए। “जहाज चढ्ने खर्च पुग्छ त” भनेर फेरि आपघरे काका सोध्दै थिए।
ऑपघरे साइला काकाले बालाई छिमेकीको माया दर्शाउदै खल्तीबाट पैसा झिक्दै दिन खोजे । बाले “खर्च पुग्छ नपुगे तिमी छौ नि” भन्नु भो ।
देउराली पुग्दा खेरी मिर्मिरे उज्यालो भो, सदरमुकाम पुगेर हस्पिटलको पेटीमा बाले डोको विसाउँदै निधारबाट झरेका पसिनाका मोतीहरू पुछनु भो । बाको निदारबाट बगेको पानीलाई म पसिना कसरी भनूँ जबकि मेरो र आमाको जीवन जोगाउन बा”ले बगाएको पानी त हाम्रा लागि मोती थियो ।
मिर्मिरेमै भोजपुर सदरमुकामको हस्पिटलमा त पुगियो तर डाक्टरको अभाव ! कोहि एम डि गर्न गएका, कोहि द्वन्द्वमा ज्यान जोगाउनु पर्छ भन्दै तराइ झरेका । एक दुई जना नर्सको भरमा बाचिरहेको हस्पिटलमा बिरामी उपचार नपाएर मर्नु के ठुलो कुरा भो र ?
नेपाल वायुसेवाको जहाज चढ्ने विरामी सिटको सिफारिस पत्र थमाउँदै एक जना अनमीले “डाक्टर साहेव ट्रेनिङ्गमा जानुभा छ तपाइँको केस अलि कम्प्लीकेटेड छ” भनिन।
म आमाको सालनाल भित्र छु।
आमाको गर्भबाटै मैले अंग्रेजी पनि बुझ्न थालेछु । आमा आत्तिनु भो । रातभरिको अनिदो आँखासँगै रगत र पानीको लेदोमा बसेको म, छटपटाउन थाले । मैले गर्भमा हलचल ल्याइदिए किनकि बाहिरी दुनियामा बाँच्न मैले मुस्किल सम्झे । गर्भ बाहिर गएपछि प्राप्त हुने सुखको सपना चुडियो मेरो । अभावको संसारमा म किन पाइला टेक्न जाउँ आमा ?, “हस्पिटल आउँदा पनि तिम्रो उपचार हुन सकेन मलाई जन्माउन तिमीलाई असहज हुन्छ होला है आमा ! भो म गर्भमै मरिदिन्छु आमा ! यस्तो आयो मेरो मनमा कुरा ।
गर्भ भित्रै म सोच्दै गएँ, मलाई एउटा विषालु शिथिलताले छोप्दै गयो । म बसेको वरिपरीको रगत र पानी आमाको गर्भबाट बाहिर बग्न थाले । म रित्तो हुँदै गएँ । आमा पीडाले चिच्याएको आवाज सुन्न थाले । डोकोमा राखेका कपडाका टालाहरू सबै रक्तम्य देखें । आमाको पेटको पातलो छालाबाट विहानको दिव्य ज्योति दिङलाको पहाडबाट झरिरहेको थियो।
एयरपोर्ट पुगेर बा ले डोको बिसाउनु भो । आमा रगत बगेर बेहोसी, म रगतमा तैरिन नपाएर दुखी थिए । मेरो र बाहिरी संसार बीच यसरी गर्भमै युद्ध चल्न थाल्यो । नेपाल वायुसेवाको जहाज नै अब सबैको आशा र आस्थाको ईश्वर बन्यो ।
बा ट्याम्के डाडामाथि आँखा ओच्छ्याइरहनु हुन्छ कि जहाज कतिखेर आउला र आमालाई काठमाडौं लगेर सुत्केरी गरौला भनेर।
मेरा बाको आँखामा बगेका मोतीका दानाले मलाई यति धेरै खुशी बनायो कि साच्चै मेरी आमालाई उहाँ कति धेरै माया गर्नुहुँदोरहेछ, कति भाग्यमानी मेरी आमा । बा”को हातमा पोतिएको रगत सुक्न नपाउँदै ट्याम्के डाँडामा एउटा सफा सेतो, नीलो र रातो धर्सा भएको चन्द्र सूर्य अंकित झण्डा बोकेको जहाज देखियो ।
म खुशी भएँ। गर्भबाट कतिखेर बाहिर आउला र आमालाई हेरुँला भन्ने थियो । आमा डोकोमा ऐया ऐया भन्दै रोएको पीडालाई नेपाल वायुसेवाको जहाजले कम गराइदियो । डोकाबाट उत्रिएर सबैले आमालाई झ्याइकुटी बनाएर बोक्दै जहाजभित्र लगेर सुताए । सिस्ट र मीठो भाषामा बोल्ने पाइलटले पनि मेरी आमालाई माया गर्दै भन्नुभो ‘”नआत्तिनुस दिदी सब ठीक हुन्छ” ।’आमालाई धेरै दुखेकोले मलाई पनि दुख्यो । बाको काखमा सिरानी गरेर आमा ढल्किनु भो ।
हामीलाई पुर्याउन आएका छिमेकीहरू एयरपोर्टबाट बिदा भए । हाम्रो आशा र आस्थाको जहाजले भुइँ छोड्यो । नीलो आकाशको स्वच्छन्द क्षितिजमा जहाज उड्न थाल्यो ।
जहाज उडिसकेपछि आमाको गर्भ भित्र रहेको रगत र पानीसँगै म पनि बाहिर बग्न थाले । जहाजको उडानसँगै आमाको हलचल कम भो । बाको चिच्याहट बढी भो । म बसेको गर्भमा पनि मलाई असहज महसुस भो । बा रोएको सुनेर मैले आफैँ बाहिर आउने प्रयास गरे । हात दह्रो, मन दह्रो गरे कतै मेरी आमालाई केही भैदियो भने मेरो आशा र आस्थाको एउटा ज्योति निभ्ने छ भन्ने बिचार मनमा आयो ।
ट्याम्के डाँडा काटेर खानी डाँडा नपुग्दै जहाजभित्र आमाको गर्भबाट म आफै बाहिर निस्किएछु र बाको आँसु देखें, अनि थाहा पाएँ आमाले मलाई टुहुरो बनाएर यो संसारबाट विदा भएको कुरा बाको काखमा आमाको शीर ढलेको थियो । बाले मलाई जहाजमा म्वाइँ खानु भो । बाको ओठमा आमाको रगत र आँसु लतपतिएको थियो ।
यसरी म जहाजमा जन्मिए पछि मैले पहिलो चोटी आमाको मृत शरीरलाई देखें त्यस पछि मलाई हेरेर बाका ओठमा फक्रिएको खुशीको मुस्कान देखें शायद म छोरो भएर जन्मीएकोमा बालाई गर्व थियो कि !
एकातिर जन्म अर्को तिर मृत्युको पीडा भोगेका मेरा बाको अनुरोधमा हवाई जहाज पुनः बिचबाट नै भोजपुर एयरपोर्ट फर्केर अवतरण भयो । जहाजको सिटमा ढलेको आमाको मृत काखमा म लम्पसार थिए। छेउमा रोइरहनु भएको बाको आँशु मेरो कलिलो खुट्टामा तपतप चुइरहेको थियो।