काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यबाटै हटाएको पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ।
पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भने उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन्। शुक्रबार तिमिल्सिनालाई आयोगले पत्र पठाएर जानकारी दिएको हो।
‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनी मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१।१०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ। यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ’ तिमिल्सिनालाई थमाइएको पत्रमा भनिएको छ।