काठमाडौं । सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लगाएतका दलहरुको समर्थनमा तयार भएको समाजवादी मोर्चा सक्रिय बनाउने कसरतमा दलहरु देखिन्छन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरूले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए।
मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।