काठमाडौं । अन्ततः हमास र इजरायलका बिचमा युद्धबिराम भएको छ । इजरायली मन्त्री परिषद्ले अनुमोदन गरेपछि यो युद्धबिराम आइतबारबाट लागू हुने भएको हो ।
समाचार अनुसार युद्धविरामको कार्यान्वयन आइतबार बिहान ८ः३० बजे सुरु हुने कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ताले गाजाको स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेबाट गाजामा युद्धविराम सुरु हुने घोषणा गरेका हुन्।
‘हामी हाम्रा भाइहरूलाई सतर्क रहन, अत्यन्त सावधानी अपनाउन र आधिकारिक स्रोतहरूबाट निर्देशनहरू पर्खन सल्लाह दिन्छौँ,’ प्रवक्ता माजेद अल अन्सारीले अरबीमा सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
हमास र इजरायलका बिचमा युद्धबिराम गराउन कतारले उल्लेखनीय भूमिका खेलेको छ । उसैको पहलमा १५ महिना लामो युद्ध रोकिन लागेको हो । जसले मध्य पूर्वमा शान्ति छाउने विश्वास व्यक्त गरिएको छ । एजेन्सी