काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पछिल्लो समय नेताहरुलाई धमाधम कारबाही गरिरहेको छ । यसैबिच कमिटी कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।
एमालेबाट निष्कासन भएका डा. भीम रावलको गतिविधिमा संलग्न भएको भन्दै शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठीत सदस्य समेत नहरनेगरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।
एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बाबुछोरा हुन् । उनीहरु एमालेमा भीम रावल निकट मानिंदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।
यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध शुक्रबार धनगढी विमानस्थलमा भीम रावल समर्थकले नाराबाजी गरेका थिए ।