काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार शिवसताक्षीस्थित दोमुखा पर्यटकीय स्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारण सभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किँदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
उनले पूर्व मुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । “पूर्व मुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किँदै थिए । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।”
पूर्व मुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । “हामी निवास फर्किँदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्यो ।” आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ । विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन् ।
थापामाथि आक्रमण गर्ने दुई जना नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमण स्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ ।