काठमाडौं । गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । सो सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।
प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्ध विराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यो संगै युद्धविरामको टुङ्गो लागेको हो ।
स्थानीय समय अनुसार ८ बजेर ३० मिनेट (जीएमटी ६ बजेर ३० मिनेट)मा युद्धविराम कार्यान्वयनमा आउने भनिएको थियो।
इजरेली प्रधानमन्त्रीले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए।
इजरेली सेनाले युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो। प्राविधिक समस्या देखिएको भन्दै केही ढिला नाम सार्वजनिक गरेको हमासले आफू उक्त सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको थियो।