एकताको चर्चाका बिच किन नोकझोकमा उत्रिए लिङ्देन र थापा ?-Sutra News

एकताको चर्चाका बिच किन नोकझोकमा उत्रिए लिङ्देन र थापा ?

सोमबार, ७ माघ २०८१

सोमबार, ७ माघ २०८१

काठमाडौं । केही साताअघि एक सार्वजनिक सञ्चार माध्यमसँगको कुराकानीमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चाहना नराखेकै कारण दुई पार्टीबिच एकता हुन नसकेको बताएका थिए । उनले लिङ्देनले चाहेमा एक हप्तामै दुई राप्रपा एक हुने अभिव्यक्ति दिएका थिए ।



“एकताको विषय राजेन्द्र लिङ्देनजीको हातमा छ, उहाँले चाहे एक हप्तामै राप्रपाबिच एकता हुन सक्छ”, एक सञ्चारमाध्यमसँगको कुराकानीमा थापाले भनेका छन्, “राप्रपाभित्र आफ्ना विषय होलान्, पार्टी एकता गरेर जान सकियो भने विवाद निराकरणहरूमा सहयोग पुग्छ ।”

थापाको अभिव्यक्तिपछि राप्रपामा एक खालको तरङ्ग देखियो । जसबाट सबैभन्दा बढी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रभावित देखिए । उनले थापाको भनाइप्रति असन्तुष्टिमात्रै जनाएनन्, आफू फेरि राप्रपालाई फुटाउने र विभाजित बनाउनेतर्फ नलाग्ने टिप्पणी गरे ।

“तपाईँहरू ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ, अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन”, थापा अभिव्यक्तिलाई लक्षित गर्दै लिङ्देनले भनेका छन्, “विगतका के–के नाममा गुट थिए, कोही जबरा पक्ष, कोही थापा पक्ष भए, तर अहिले राप्रपामा सबै राप्रपा पक्ष मात्र छन् ।”

उनले स्पष्टरुपमा थापाको प्रस्तावलाई नकारेका मात्रै थिएनन्, पार्टीभित्रका गुटका विरुद्धमा पनि धावा बोलेका थिए । लिङ्देनले ठाडै अस्वीकार गरेको सन्दर्भमा यति बेला थापाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

थापाले आफूहरू कमजोर भएर पार्टी एकताको पहल नगरेको बताएका छन् । सँगै उनले व्यवस्था परिवर्तनको निर्णायक आन्दोलनको लागि एकता अनिवार्य भएको बताएका छन् ।

“मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन, हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो”, उनले भनेका छन्, “यो समय फेरि नआउन सक्छ ।”

२०७८ मंसिरमा भएको महाधिवेशनमा पार्टी अध्यक्षको पदमा पराजित भएपछि थापा राप्रपाबाट अलग्गिएका थिए । राप्रपाबाट अलग्गिएका थापाले राप्रपा नेपाल मात्रै ब्युँताएका थिएनन्, राजसंस्थाको एजेन्डा नै त्यागेका थिए ।

राप्रपाबाट बाहिरिएसँगै थापा र लिङ्देनबिच सार्वजनिक रूपमै नोकझोँक चलेको थियो । विशेषगरी पूर्वराजाले लिङ्देनलाई अगाडि सारेर आफूलाई हराएको आरोप थापाले लगाउँदै आएका थिए ।

तर, राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाए पनि थापाले पार्टी निर्माणको औचित्य भने पुष्टि गर्न सकेनन् । पार्टी विभाजनपछि २०७९ मा भएको तीनै तहको निर्वाचनमा लिङ्देन नेतृत्वको राप्रपाले अपेक्षित नतिजा प्राप्त गर्दा थापा नेतृत्वको राप्रपाको भने लज्जास्पद हार व्यहोर्‍यो ।

निकै लज्जास्पद हारपछि थापा क्रमशः फेरिँदै राजसंस्था पक्षधर मात्रै बनेका छैनन्, राप्रपा फर्किन एकताको कुरा पनि गरिरहेका छन् ।

थापा अभिव्यक्तिबाट किन असन्तुष्ट देखिए लिङ्देन ?

राप्रपाका एक केन्द्रीय नेताका अनुसार थापालाई भित्र्याउन लिङ्देन खास नकारात्मक छैनन् । तर, थापाले अघि सारेको एकताको प्रस्तावप्रति उनी असन्तुष्ट छन् ।

अहिले थापा दुई पार्टीबिच सम्मानजनक एकता हुनुपर्ने भन्दै लबिङ गरिरहेका छन् । थापाले बाहिर एकताको कुरा गर्ने तर, भित्र बारगेनिङ्ग गर्ने गरेको ती नेताले बताए ।

“२० हजार मत नभएको पार्टीसँग कसरी बराबरी हैसियतमा एकता हुन्छ र ? उहाँले अनेकन पद दिएर नेताहरू राख्नुभएको छ, तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ”, लिङ्देन निकटका एक नेता भन्छन्, “यस्तो प्रस्तावलाई स्वागत गर्ने कुरा हुँदैन, अध्यक्ष जीको प्रष्ट कुरा छ, बार्गेनिङ नगरी आए सम्मानजनक स्वागत हुन्छ ।”

सँगै, अहिले राप्रपाभित्र नै गुटगत विवादले चरम रूप लिएको अवस्था छ । अध्यक्ष लिङ्देनका प्रत्येक निर्णयमा वरिष्ठ नेताहरू डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले अवरोध गरिरहेका छन् । जसमा नेताहरू समूह नै बनाएर खुलेका छन् ।

बेला–बेला राप्रपाभित्र लिङ्देनलाई विस्थापित गर्न थापालाई ल्याउन खोजिएको चर्चा पनि चल्ने गरेको छ । जसमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि सकारात्मक रहेको बताइन्छ ।

आमरुपमा चलेका यी चर्चाका बिच लिङ्देन केही तरङ्गित देखिन्छन् । थापालाई भित्र्याएसँगै विरोधी समूह थप सशक्त बन्ने र आफूलाई किनारामा पार्न सक्ने जोखिम लिङ्देनले देखेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट