भीम रावल पक्षधरलाई कारबाही गर्दा एमालेमा पहिरो-Sutra News

भीम रावल पक्षधरलाई कारबाही गर्दा एमालेमा पहिरो

सोमबार, ७ माघ २०८१

सोमबार, ७ माघ २०८१

काठमाडौं । पूर्वउपाध्यक्ष भीम रावल नयाँ पार्टी अभियानमा निस्कँदै गर्दा सत्तारुढ नेकपा (एमाले)भित्र पहिरो जान थालेको छ । विशेषगरी रावल पक्षमा उभिएका नेताहरु सामूहिक रुपमै एमालेबाट बाहिरिन थालेका छन् ।



रावल समर्थक भएको भन्दै एमालेले एकपछि अर्को गरी कारबाही थालेपछि उनीहरुले सामूहिकरुपमै एमालेबाट बाहिरिने निर्णय गरेका हुन् । सोमबार एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

जसमा एमालेको केन्द्रीय विभागका रमेश बहादुर कुँवर, प्रदेश कमिटी चक्र रावल, जंग विक, केशर मियाँलगायत छन् ।

एमालेले रावलको पक्षमा उभिएका प्रदेशका पूर्वविकासमन्त्री कृष्णराज सुवेदीसहितका नेताहरुलाई निष्कासनको तयारी गरेको थियो । जुन तयारीसँगै आक्रोशित नेताहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

पार्टी नेतृत्वविरुद्ध आलोचना गरेकै आधारमा रावलसहित स्थायी समिति सदस्य बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गत पुस १० मा एमालेले कारबाही गरेको थियो । पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्दा एमालेले रावललाई भने पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

योबिचमा एमालेले अन्य नेताहरुमाथि पनि कारबाहीको डण्डा चलाएको छ । जसमा कोशी प्रदेशका पूर्व सांसद एवम् उदयपुरका नेता विमल कार्की पनि छन् । उनलाई पार्टीका नेताविरुद्ध फेसबुकमा लेखेकै आधारमा कारबाही गरिएको छ ।

यसअघि रावलसहितका तीन नेतालाई विवादित व्यापारी मीनबहादुर गुरुङसँग जग्गा लेनदेन गरेको सन्दर्भमा विरोध गरेकै कारण कारबाही गरिएको थियो ।

एमालेभित्र आन्तरिक लोकतन्त्र मर्दै गर्दा नेताहरुमाथि एकपछि अर्को गरी कारबाहीको डण्डा चल्न थालेको छ । जसका बिच एमालेबाट बाहिरिनेको लर्को चल्न थालेको हो ।
पार्टीबाट आफूलाई कारबाही गर्दै गर्दा रावलले एमालेभित्र पहिरो ल्याइदिने बताएका थिए । जुन क्रमशः देखिन थालेको पाइन्छ ।

यस्ताे छ एमाले छाड्नेकाे विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट