काठमाडौं । नेकपा (एमाले)लाई अछाममा ठूलो धक्का लागेको छ । नेता भीम रावलको पक्षमा अछाममा एकै पटक १ हजार ८१ जना नेता तथा कार्यकर्ता उभिएका छन् । मंगलबार सामूहिक विज्ञप्ति निकाल्दै उनीहरुले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन जनाएका हुन् ।
रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश विभागका सातजना सदस्य छन् । यस्तै, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिालय सदस्य पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एकजना सदस्य छन् ।
यसैगरी, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीनजना र जिल्ला सल्लाहकार सदस्य १३ जनाले पनि रावललाई साथ दिएका हुन् ।
रावलको पक्षमा एमालेका नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष, पदाधिकारी २२ जना, संगठित सदस्य ६ सय ३७ जना र एमालेका अरु संगठित सदस्यसहित एक हजार ८६ जना छन् ।
एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाहले पनि अभियानलाई समर्थन गरेको दाबी गरेका छन् ।
पार्टी हित विपरित गतिविधि गरेको भन्दै रावललाई एमालेले गत पुस १० मा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । एमालेबाट निष्कासित भएसँगै रावल मातृभूमि जागरण अभियानमा जुटेका थिए ।
एमालेभित्र रावलसँगै योबिचमा अन्य नेताहरुलाई पनि अनुशासनको कारबाही भएको छ । जसमा स्थायी समिति सदस्य डा. बिन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सिना, पूर्वप्रदेश सांसद विमल कार्कीलगायत छन् ।
कतिपयलाई फेसबुकमा स्टाटस लेखेकै कारण पनि कारबाही गरिएको छ । एमालेभित्र एकपछि अर्को गरी अनुशासनको कारबाही हुँदै गर्दा नेताहरु क्रमशः बिच्किन थालेका छन् । जसको प्रभाव स्वरुप नै रावलको पक्षमा नेताहरु खुल्न थालेका हुन् ।
रावललाई गृह प्रदेशमा प्रवेश गर्दै गर्दा स्वागतमा आएका नेताहरुलाई समेत एमालेले कारबाही गरेको थियो ।
यी हुन् रावलकाे पक्षमा उभिएका नेता