काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको गठबन्धन सरकारकाे आयु लामाे नभएकाे बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारको आयुबारे बाेलेका हुन् ।
प्रचण्डले सरकारकाे आयुबारे बाेल्दै गर्दा कांग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँ–बायाँ थिए ।
‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन, मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ,’ उनले भनेका थिए ।
प्रचण्डले सरकारकाे भविष्यवाणी गर्दा कांग्रेस नेता काेइराला र भण्डारी भने हाँसेका थिए । तर, प्रचण्डपछि बाेलेका काेइरालाले प्रचण्डकाे भनाइअनुसार नै सरकारकाे भविष्य अस्पष्ट भएकाे बताए ।
‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ तर, नहुने होइन’, काेइरालाले भनेका छन्, ‘राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं ।’
कोइरालाकाे भनाइमाथि टिप्पणी गरेका प्रचण्डले ‘कुरा बुझ्नुभयो होला नि ?’ प्रतिप्रश्न गरेका थिए । ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि’, प्रचण्डले भनेका थिए ।