कता जान खोज्दैछ सेयर बजार ?-Sutra News

कता जान खोज्दैछ सेयर बजार ?

मंगलबार, ८ माघ २०८१

मंगलबार, ८ माघ २०८१

काठमाडौं । सेयर बजार केहि दिनदेखि नै उकालोमा छ । आइतबार दोहोरो अंकले बढेको सेयर बजारमा त्यसयता निरन्तर एकल अंकको बृद्धि भइरहेको छ । मंगलबारसहित पछिल्लो तीन कारोबार दिनको बिचमा बजार २४.४६ अंकले बढेको छ ।



आइतबार १२.५८ अंकले बढेको सेयर बजारमा सोमबार ६.७८ र मंगलबार ५.०८ अंकले बृद्धि भएको छ ।

परिसूचक बृद्धि भइरहँदा कारोबार रकम पनि उत्साहजनक नै देखिन्छ । योबिचमा कारोबार रकम निरन्तर ६ अर्ब माथिको छ । आइतबार ६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ४९ करोड र मंगलबार ६ अर्ब १३ करोडको कारोबार भयो ।

सेयर बजारमा एकातिर कारोबार रकम लगानीकर्तालाई प्रोत्साहित गर्ने गरी बढिरहेको छ भने अर्कोतिर सूचकमा पनि निरन्तर बृद्धि भइरहेको छ । २६ सयको मनोविज्ञानलाई पार गरेको बजारले अबको बाटो कता समाउला ? स्पष्ट भने देखिन्न ।

तर, बजारमा सेलिङ प्रेसर नदेखिएको र निकै कम अंकले बढिरहेको कारण बजारमा घट्ने सम्भावना कम देखिन्छ । बजारका जानकार अहिलेको अवस्थाले क्रमशः बजारलाई बलियो बनाइरहेको बताउँछन् ।

हुन पनि माघसँगै अधिकांश कम्पनीहरुको साधारणसभाको अन्योलता सकिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण पनि सार्वजनिक भएका छन् । जुन लगानीकर्तालाई प्रोत्साहित गर्ने खालको नै देखिन्छ ।

सँगै, सरकारले अध्यादेशमार्फत ल्याएका कतिपय नीति अनुकुलित छन् । जसले बजारलाई क्रमशः माथि नै उचाल्ने सम्भावनालाई बढाएको छ ।

यद्यपि, लगानीकर्तामा मनोविज्ञान परिपक्क नहुँदा केही अन्योलता भने कायमै देखिएको छ । लगानीकर्ता स्पष्ट भएको खण्डमा बजार माथि जान समस्या नभएको जानकारहरुको भनाई छ ।

“बजारले करेक्सनको तह पार गरिसकेको छ, सिजनल समस्याहरु पनि सकिसकेका छन्”, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी भन्छन्, “अबको बाटो माथि जाने नै हो । बजारको कारोबार रकमले पनि क्रमशः लगानीकर्ता सक्रिय भइरहेको देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट