यता न उताका उपेन्द्र !-Sutra News

यता न उताका उपेन्द्र !

बुधबार, ९ माघ २०८१

बुधबार, ९ माघ २०८१

काठमाडौं । मधेसमा मधेसवादी दलहरूको बिचमा मोर्चा बन्यो तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल उक्त मोर्चामा सहभागी भएन । सुरुवातीमा मोर्चा बनाउन पहल गरेको भए पनि जसपा नेपाल बिना नै माघ १ मा नेता हृदेयश त्रिपाठीको नेतृत्वमा मधेस केन्द्रित ६ दलले मोर्चा घोषणा गरेका छन् ।



मधेसमा आफ्नै पहलमा मोर्चा गठन गर्न उपेन्द्रले पार्टी बैठकबाटै निर्णय गराएर उपाध्यक्ष राज किशोर यादवलाई अगाडि सारेका थिए । राज किशोरको नेतृत्वमा अन्तरपार्टी संवाद सुरु गरिएको थियो । तर, अन्तिममा अन्य दलहरूले जसपालाई नै पन्छाएर मोर्चा बनाए ।

मधेसी दलहरूकै बिचमा बनेको मोर्चाबाट पाखा परेको जसपा नेपाल विपक्षी दलहरूको अन्य मोर्चामा पनि सहभागी छैन । यतिखेर जसपा नेपाल, न माओवादी केन्द्रको नेतृत्वमा बनेको विपक्षी दलहरूको मोर्चामा सहभागी छ न त समाजवादी मोर्चामा ।

माओवादी केन्द्रले वामपन्थी धारका दलहरूलाई समेटेर एकातिर समाजवादी मोर्चा बनाएको छ भने अर्कोतिर संसदका विपक्षी ६ दललाई समेटेर विपक्षी मोर्चा बनाएको छ । तर, जसपा नेपाल कुनै पनि मोर्चामा सहभागी छैन ।

माओवादीकै पहलमा माघ ४ र ६ मा विपक्षी ६ दल औपचारिकरुपमा छलफलमा जुटेका थिए । जसमा राप्रपादेखि राजमोसम्म समेटिएका छन् ।

यता, समाजवादी मोर्चाको गठन हुँदा जसपा नेपाल पनि सहभागी थियो । २०८० असार ४ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चा गठन भएको थियो ।

तर, पछिल्लो समय समाजवादी मोर्चामा जसपा नेपाल सहभागी छैन । माओवादी केन्द्रले समाजवादी मोर्चालाई सक्रिय बनाउन थालेको छ । पछिल्लो चरणमा माघ ४ मा मोर्चाको बैठक बसेको थियो । तर, उक्त बैठकमा जसपा नेपाल सहभागी भएन ।

मोर्चाको अर्को बैठक माघ १६ मा बस्दैछ । जुन बैठकमा पनि जसपा नेपालको सहभागिता अनिश्चित देखिन्छ ।

जसपाले माओवादी नेतृत्वमा बन्ने कुनै पनि मोर्चामा आफू सहभागी नहुने बताएको छ । उसले माओवादीप्रति विश्वास नरहेको पनि बताउने गरेको छ ।

“अहिलेको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य सम्भव छैन, जोसँग सहकार्य गरेको छ उसैलाई पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता भएपछि कुनै विश्वास हुँदैन”, समाजवादी मोर्चाबारे उपेन्द्र यादवले भनेका छन् ।

विपक्षीहरूको कुनै पनि मोर्चामा सहभागी नभएको जसपा नेपाल सत्ता पक्षीय मोर्चामा पनि सहभागी छैन । कांग्रेस–एमाले गठबन्धन सरकार बन्दै गर्दा समर्थनमा उत्रिएको जसपा नेपाल सरकारमा भने सहभागी हुन पाएन । केन्द्र सरकारमा सहभागी नभएको जसपा मधेसमा पनि प्रतिपक्षीको भूमिकामा छ ।

केन्द्र सरकारमा जसपा नेपालबाटै फुटेर बनेको अशोक राई नेतृत्वको जसपा सहभागी छ भने मधेस प्रदेशमा जनमत पार्टीले नेतृत्व लिएको छ । जहाँ उ प्रतिपक्षीको हैसियतमा छ ।

सुरुवाती केन्द्र सरकारलाई समर्थन गरेको जसपा नेपालले पछिल्लो समय सरकार विरोधी अभिव्यक्ति दिन थालेको छ । यद्यपि, उसले आफ्नो कित्ता भने स्पष्ट पारेको छैन ।
स्वयम् उपेन्द्र यादव पनि आफ्नो पार्टीले कित्ता नछुट्याएको बताउँछन् । उनी जसपा नेपाल अहिले ‘मध्य बिन्दुमा उभिएको’ बताएका छन् ।

“हाम्रो पार्टी न सत्ता पक्षीय हो न त प्रति पक्षीय, अहिले हामी मध्य बिन्दुमा उभिएका छौँ”, जसपाको कित्ताबारे यादव भन्छन्, “सरकारले राम्रो काम गर्‍यो भने समर्थन गरेका छौँ। नराम्रो काम गर्‍यो भने विरोध गरेका छौँ।”

जसपाले कित्ता स्पष्ट नपार्दा एकातिर जसपाभित्रै अन्योलताको स्थिति छ भने अर्कोतिर अन्य दलहरू पनि सहकार्यको सन्दर्भमा अस्पष्ट बनिरहेका छन् ।

यद्यपि, जसपाका महासचिव रामकुमार शर्मा जसपाले मुद्दा मिल्ने दलहरूबिच बृहत् धुव्रिकरणलाई अगाडि बढाएको बताउँछन् । उनका अनुसार अहिले सत्ता राजनीतिभन्दा माथि उठेर जसपा अभियानमा जुटेको छ ।

“हामी अहिले सत्ता राजनीतिको खेलमा छैनौ, हामी मुद्दागतरुपमा दलहरूबिच सहकार्य र मोर्चा बन्दीको प्रयासमा छौँ”, उनले भनेका छन्, “अहिले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि नै संकटमा परेको देखिन्छ, जसलाई रक्षा गर्नु हाम्रो दायित्व हो, हाम्रो अभियान एजेन्डागतरुपमा ध्रुवीकरण गर्नेमा छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट