काठमाडौं । चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का चर्चित कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले फिचर फिल्म ‘परान’ निर्देशन गर्ने भएका छन् । उनको डेब्यू निर्देशनमा बन्ने फिल्म परानको औपचारिक रुपमा निर्माण घोषणा समेत भएको छ ।
बुधबार आयोजित कार्यक्रममा फिल्मको काष्ट एण्ड क्रुका बारेमा जानकारी दिदै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्मको प्रमुख भूमिकामा नीर शाह रहने छन । शाहसँगै समकालिन अभिनेता मदनकृष्ण श्रेष्ठ र सुभाष गजुरेललाई पनि यस फिल्ममा देख्न पाईने छ । शाहको जोडी बनेर अभिनेत्री पूजा चन्द खेल्ने बताईएको छ ।
अभिनेत्रीका रुपमा अञ्जना बराइली र केकी अधिकारी अनुबन्धित छन् । फिल्ममा अर्का अभिनेताको रुपमा प्रविण खतिवडा र महेश त्रिपाठी रहने छन भने बुद्धी तामाङ, यमन श्रेष्ठ र निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य बाल कलाकारका रुपमा देखिने छन ।
प्रिज्मा एडभटाईजिङका प्रमुख समेत रहेका रन्जित आचार्य र व्यवसायी शेखर गोल्छा निर्माता रहेको फिल्मको छायाँङ्कन फाल्गुनको पहिलो साता देखि धनकुटामा हुनेछ ।
कार्यक्रममा महानायक राजेश हमाल, बरिष्ठ हाँस्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्ल लगायत व्यापारिक घरानाका चिरपरिचित व्यक्तित्वहरुको उपस्थितीमा फिल्म निर्माणको उद्धेश्यको बारेमा जानकारी गराईयो ।