काठमाडौं । वामदेव गौतमकै आग्रहपछि नेकपा (एकीकृत समाजवादी)ले मंसिर २६ मा स्थायी समिति बैठक बसालेर स्वागतका लागि विधिवत् निर्णय गरेको थियो । स्थायी समितिको निर्णयपछि एसले शीर्ष तहमै छलफल गरेर गौतमको जिम्मेवारीसहित उनी आबद्ध समूहका नेताहरूको पनि कार्य विभाजनको मोडालिटी बनाएको थियो ।
एसले पार्टीभित्र तेस्रो वरीयतासहित उनले माग गरेको संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । सँगै, गौतमको प्रस्तावअनुसार नै बहुदलीय जनवादको सन्दर्भमा तल्लो इकाइसम्म नै छलफललाई अगाडि बढाउन दिने सहमति पनि गरेको थियो ।
“उहाँले आग्रह गरेपछि हामी स्थायी समिति बैठकबाटै उहाँलाई स्वागत गर्ने निर्णय गरेका थियौँ, उक्त बैठकमै उहाँको वरियताको निर्णय पनि भएको थियो”, एसका स्थायी समिति सदस्य साध्य बहादुर भण्डारी भन्छन्, “उहाँले संगठन विभागको नेतृत्व खोज्नुभएको थियो, बहुदलीय जनवादको सिद्धान्तमाथि छलफल हुनुपर्ने विषय राख्नुभएको थियो, जसलाई हामीले सहर्ष स्वीकार गरेको स्थिति थियो ।”
उनका अनुसार अन्तिम निर्णायक छलफलहरूमा स्वयम् एसका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरू सहभागी थिए ।
तर, एसमा आउने सहमति गरेर अन्तिम समय गौतमले धोका दिए । उनले एससँग निर्णय गरेर आफ्नो समूहभित्र छलफल गर्न भन्दै समय लिएका थिए ।
पुस १५ र पुस १७ मा अध्यक्ष नेपालसहितका नेताहरूसँग एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमै गौतमको छलफल भएको थियो । उक्त छलफलले गौतमसहितका नेताहरूको जिम्मेवारीबारे टुंगो लगाएको भण्डारी बताउँछन् ।
तर, उक्त छलफलपछि गौतम समूहले आन्तरिक छलफल आवश्यक भएको भन्दै पुस २७ गतेसम्मको समय माग गरेको थियो । पुस २७ मा बसेको गौतम समूहको बैठकले एससँगको एकताको विषयमा भने निर्णय गरेन । बरु बाम एकता भन्दै एमालेतर्फ संकेत गर्यो ।
पुस २७ को बैठकपछि गौतम समूहका नेता डिबी कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका थिए । जुन भेटपछि नै गौतम समूहले एमालेसँग एकता गर्ने निर्णय सुनाएको थियो ।
“प्रधानमन्त्री ज्यू, एकताको पक्षमा निकै सकारात्मक देखिनुभयो, हामी पनि मूल घरमै फर्किनुपर्छ भन्नेमा पुग्यौँ”, ओलीसँगको भेटबारे कार्की भन्छन् ।
कार्कीले भेटेपछि माघ ५ मा ओलीलाई भेट्न स्वयम् गौतम प्रधानमन्त्री निवास पुगेका थिए । ओलीलाई भेटेपछि गौतमले सार्वजनिकरुपमा उत्साह प्रकट गरेका थिए । ओलीले आफूलाई ‘दुई मुटु एक धड्कन भएर काम गरौँ’ भनेको गौतमले बताएका थिए ।
त्यसयता ओली र गौतमबिच फोनमा पनि संवाद चलिरहेको नेता कार्की बताउँछन् । गौतमसँगको छलफलपछि नै ओलीले माघ ८ मा पार्टी सचिवालय बैठक बोलाएका थिए । जसले गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग ‘सहकार्य गर्ने’ भन्ने निर्णय गरेको छ ।
तर, एमालेको निर्णयबाट गौतम समूह फेरि अन्योलमा पुगेको छ । एमालेले झुक्क्याउन खोजेको त होइन ? भन्ने त्रास गौतम समूहमा देखिन थालेको छ ।
“सहकार्य गर्ने भन्ने एमाले सचिवालयको निर्णय स्वागत योग्य छ तर, सहकार्य के हो भन्ने खुलेन”, एमालेको निर्णयबारे गौतम समूहका नेता कार्की भन्छन्, “विगतमा अनेकन शक्तिहरूसँग सहकार्यका निर्णय भएका छन्, यो निर्णय पनि कस्तो हो ? प्रस्ट भएन । कता–कता जालझेल त होइन भन्ने पनि आशंका जन्मिएको छ ।”
कार्कीका अनुसार एमालेसँग भाषा प्रस्ट्याउन माग गरिएको छ । “हामीले भाषा प्रस्ट्याउन माग गरेका छौँ, नेताहरूको व्यवस्थापनमा खुला हिसाबले छलफल गर्न तयार छौँ, अरू विषयमा पनि हाम्रो खास माग छैन, तर शब्दले अलमल्याउन भएन भन्ने हो”, कार्की भन्छन्, “यस्ता शब्द प्रयोग गरेपछि अन्यले खेल्ने स्थिति पनि हुन्छ भनेर भनेका छौँ ।”
सम्बन्धित समाचार