काठमाडौं । यतिखेर माओवादी केन्द्रकै नेतृत्वमा दुई वटा विपक्षी मोर्चा सक्रिय बनेको छ । एउटा मोर्चामा संसदका साना विपक्षी दलहरु राप्रपादेखि राष्ट्रिय जनमोर्चासम्म समेटिएका छन् भने अर्कोतर्फ समाजवादी नामको मोर्चामा विप्लव समूहसम्म आबद्ध छ ।
एकातिर संसदभित्र खेल्न प्रचण्डले विपक्षी साना दललाई प्रयोग गर्ने योजना अघि सारेका छन् भने अर्कोतिर सडकतर्फको मोर्चा सम्हाल्न विप्लवलाई अगाडि सारेका छन् ।
प्रचण्डले माघ ४ मा संसदमा आबद्ध विपक्षीहरुको मोर्चा घोषणा गरेका थिए । जसले माघ ६ मा ओली नेतृत्वको सरकारलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाएको थियो ।
“ सरकार ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ, नैतिकताको आधारमा भन्ने हो भने प्रधानमन्त्रीले राजीनामा दिनु नै उचित हुन्छ”, माघ ६ मा विपक्षी मोर्चाको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भनेका थिए ।
अहिले विपक्षीबिच मोर्चा बनाएर प्रचण्डले संसदमा झण्डै ८० सिट हाराहारी आफ्नो पक्षमा तानेका छन् । जसका आधारमा उनले ओली सरकारको भविष्य नरहेको भन्दै सार्वजनिकरुपमा अभिव्यक्ति दिइरहेका छन् ।
८० सिट जुटाएका प्रचण्ड अहिले कांग्रेसलाई आफ्नो पक्षमा पार्ने योजनामा देखिएका छन् । कांग्रेसभित्रको असन्तुष्ट समूहलाई आफ्नो पक्षमा ल्याएर सरकार फेर्ने प्रचण्डको खुला योजना देखिन्छ ।
हुन पनि ओली सरकारको भूमिकालाई लिएर कांग्रेसभित्र तिव्र असन्तुष्टि बढ्दो छ । जसका बिच सभापति शेरबहादुर देउवा निकटकै केही नेताहरुले खुलारुपमै सरकारको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।
गत माघ ३ मा बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकमा पनि नेताहरुले तिव्र असन्तुष्टि पोखेका थिए । जुन बैठककै छलफलका आधारमा प्रचण्ड हौस्सिँदै विपक्षी मोर्चा गठन तिर तात्तिएका हुन् ।
ओली सरकारको दिन गनेका प्रचण्डले माघ ८ मा कांग्रेसकै प्रभावशाली दुई नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई आडमा राखेर दिएको अभिव्यक्ति अर्थपूर्ण छ । दुई नेतालाई सँगै राखेर प्रचण्डले ओली सरकारको भविष्य नरहेको मात्रै भनेका छैनन्, उनले कांग्रेस आफ्नो ‘पार्टनर दल’ भएको पनि बताएका छन् ।
“यो सरकार ०८४ सम्म नै गइदिए हुन्थ्यो, जाँदैन भन्ने पो चिन्ता छ हामीलाई, गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो”, दुई नेतालाई सँगै राखेर प्रचण्डले भनेका छन् ।
प्रचण्डको अभिव्यक्तिमा हाँसेका कांग्रेस नेता शंशाकले उल्टै सरकारमाथिको प्रश्नमा भरथेग गरेका छन् । उनले सरकार परिवर्तनको सम्भावनालाई नकारेका छैनन् ।
“ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ, तत्काल तलमाथि हुने सम्भावना कमै छ तर, नहुने होइन”, कोइरालाले भनेका छन्, “राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं ।”
कोइरालाको भनाइप्रति उत्साहित प्रचण्डले ‘कुरा बुझ्नुभयो होला नि ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
ओलीको विकल्प खोज्न लागेका प्रचण्ड कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन खुलेरै देखिएका छन् । तर, उनको प्रस्तावमा देउवा पूर्ण तयार भइसकेको देखिन्न । देउवाले अहिलेसम्म प्रचण्डको चाहनामा सहमतिपूर्ण संकेत गरेका छैनन् ।
तर, देउवालाई पनि थप दुई वर्ष कुर्ने कि अहिले नै सत्तामा पुग्ने भन्ने छटपटी भने माहोलले बनाउन थालेको देखिन्छ । देउवा निकटस्थका अभिव्यक्तिले पनि जुन माहोललाई भरथेग गरिरहेको छ ।
अर्कोतर्फ, ओली सरकार आफैं असफलताको बाटोतर्फ डोरिनु पनि देउवाका निम्ति विकल्प खोज्ने उपाय बनिरहेको देखिन्छ । ओली सरकारको ६ महिने कार्यकाल गणनायोग्य छैन ।
उल्टै योबिचमा सरकारको भूमिकालाई लिएर जनतामा कांग्रेसप्रति पनि असन्तुष्टि बढ्दो छ भने अर्कोतिर बाह्य सम्बन्ध बिग्रन थालेको छ । दुई छिमेकी मुलुकसँगको सम्बन्धमा विश्वासको अवस्था हराउँदै जाँदा सरकारले तेस्रो मुलुकसँग पनि सम्बन्ध विस्तारमा भूमिका खेल्न सकेको छैन ।
दक्षिण भारततर्फबाट ओली सरकार ‘कम्फर्टेबल’ नभएको भन्ने टिप्पणी सञ्चार माध्यममा देखिन थालेका छन् । यस्तोमा सरकार ढाल्ने उपायको खोजीमा देखिएका प्रचण्डलाई कांग्रेसभित्र आफू अनुकुलको माहोल बनाउनु सबैभन्दा महत्वपूर्ण देखिन्छ ।
विगतमा ३२ सिट देखाएर ‘म्याजिक नम्बर’को उखान भन्ने प्रचण्डले कांग्रेसभित्रै खेलेर कतै झण्डै दुई तिहाई हाराहारीको सरकार त ढाल्दैनन् ? सम्भावनालाई नकार्न मिल्ने अवस्था छैन ।
सम्बन्धित समाचार
शशांक र चन्द्र भण्डारीलाई आडमा राखेर प्रचण्डले सरकारकाे आयु ताेकेपछि…