प्रचण्डको उद्घोष : ०८४ मा बहुमत दिए नेपालबाट भ्रष्टाचारको जरोकिलो उखालेर फ्याक्छौँ-Sutra News

प्रचण्डको उद्घोष : ०८४ मा बहुमत दिए नेपालबाट भ्रष्टाचारको जरोकिलो उखालेर फ्याक्छौँ

बिहिबार, १० माघ २०८१

बिहिबार, १० माघ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ०८४ को निर्वाचनमा बहुमत दिएमा नेपालबाट भ्रष्टाचारको जरोकिलो उखालेर फ्याक्ने उद्घोष गरेका छन् । बाँकेमा आयोजित पार्टीका खबरदारी सभालाई सम्बोधन गर्दै उनले उक्त उद्घोष गरेका हुन् ।



आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढ्दा पार्टी प्रवेश गर्नेहरूको लहर आएको दाबी गरेका छन्। एमालेबाट माओवादी प्रवेश गर्नेहरू बढ्दै गएको उनको भनाइ छ।

उनले भने, ‘३२ सीट हुँदा त भ्रष्टाचारका विरुद्ध एक युद्ध छेड्यौँ। सामाजिक न्यायको पक्षमा लड्यौँ। अन्तराष्ट्रिय रूपमा नेपालको इज्जत बढायौँ। हामीलाई तपाईँहरूले ०८४ मा बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचार जरोकिलो उखालेर फ्यालिनेछ। सामाजिक विभेदको पूरै अन्त्य गरेको छु। म ७० पुगेपनि म भ्रष्टाचार र प्रतिक्रियावादीहरूका विरुद्ध लडाइँ लड्नु छ। त्यो नेपाली जनताले जित्नु छ।’

अहिले भ्रष्टाचारीहरूको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरूको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको उनले बताएका छन् । उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौँ। कहिले काँग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो। अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ। अब भ्रष्टाचारीहरूसँग समीकरण हुँदैन।’

उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट हुने सदनमा सरकारविरुद्ध खरो रूपमा प्रस्तुत हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट