काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले आफ्नो पार्टीलाई ‘मिसन ०८४’ भन्ने छुट नभएको बताएका छन् । गृहजिल्ला कञ्चनपुर पुगेका उनले ०७९ सालको निर्वाचनबाट जनताको ‘म्यान्डेट’ पाएको पार्टीले अर्को मिसन बनाउन आवश्यक नरहेकामा जोड दिए ।
“कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने छैन,” साउदले भने, “हारेकाहरूले हो मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने । कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् । त्यसकारण हामीले जनताका आकांक्षा र विकासका काममा कटिबद्ध हुन जरुरी छ ।”
पार्टीबाट जितेका तीन तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफैँ कांग्रेसको खोजी गर्ने उनले बताए । “आजका दिनमा कांग्रेसबाट तीन तहमा गएका जनप्रतिनिधि साथीहरूले उदाहरणीय काम गर्यौँ भने जनताले आफैँ ०८४ मा कांग्रेस भनेर खोज्नेछन्,” नेता साउदले भने ।