काठमाडाैं । खाद्य पदार्थ उत्पादक तथा निर्यातक कम्पनी यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जिपी शाहलाई नियुक्त गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारको लागि भन्दै कम्पनीले लामो व्यवसायिक अनुभव भएका शाहलाई नियुक्त गरेको जनाएको छ।
विगतमा ७ वर्ष केडिया ग्रुप तथा २४ वर्ष चौधरी ग्रुपमा काम गरेका शाहलाई यशोदाले भित्र्याएको हो। प्रालिका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशले करेन्ट चाउचाउ लगायतका यशोदामा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार ठूलो सहयोग पुग्ने बताए।
उत्पादन, इञ्जिनियरिङ, प्रोजेक्ट म्यानेजमेन्ट, सेल्स तथा मार्केटिङजस्ता क्षेत्रमा शाहको अनुभव रहेको बताइएको छ। उनले विगतमा ३५ भन्दा बढी देशमा व्यापार विस्तार, बजार प्रवर्द्धन र ब्रान्ड निर्माणमा काम गरेका छन्।
कम्पनीकाे ग्लोबल कार्यकारी निर्देशककाे जिम्मेवारी पाएसँगै शाहले कम्पनीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘जहिले पनि बजार र उपभोक्ता परिवर्तनशील छ, यस विषयलाई बुझेर काम गर्न सक्दा कुनै पनि ब्राण्डले सफलता पाउँछ, मेरो ध्यान बजारको चाहना बुझेर त्यसै अनुसार कम्पनीलाई डोर्याउनेमा हुन्छ,’ शाहले भनेका छन् ।
यशोदा फुड्सले भारत, अमेरिका, युरोप, खाडी मुलुक, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ। यशोदाले करेन्ट चाउचाउ, चिजबल्स, चिप्स लगायतका उत्पादन गर्दै आइरहेको छ।