काठमाडौं । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको भोलि माघ १२ गते हुने निर्वाचनका लागि नुवाकोट जिल्लाबाट केन्द्रीय समितिमा उपाध्यक्ष सहित ५ जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा एक उपाध्यक्ष सहित दुई सचिवालय सदस्य र तीन केन्द्रीय सदस्यमा उम्मेदवारी परेको हो।
केन्द्रीय उपाध्यक्षमा खुलातर्फ पुर्व जिल्लाअध्यक्ष विनोद कोइराला, केन्द्रीय सचिवालय सदस्यमा बागमती प्रदेशतर्फ पुर्व केन्द्रीय सदस्य रामचन्द्र गजुरेल र छात्रातर्फ सगुन सापकोटा छन् भने दलित केन्द्रीय सदस्यमा रिजन दिवाली र अर्का केन्द्रीय सदस्यमा ज्ञानेन्द्र न्यौपानेको उम्मेदवारी भएको अखिल (क्रान्तिकारी) का निवर्तमान केन्द्रीय सचिव प्रदिप शर्माले जानकारी दिए । संगठनको गतिशील जिवन र विद्यार्थीको हकहितका निम्ति नुवाकोटका यी पाँचैजना विद्यार्थी नेताहरू केन्द्रीय समितिमा अत्यावश्यक भएकोले सवैलाई विजयी गराउन जिल्ला अध्यक्ष राजेन्द्र पनेरुले अपिल गरे ।
२४३ सदस्यीय केन्द्रीय समितिका लागि ५ सय जनाको उम्मेदवारी दर्ता भएको छ । देशभरबाट २ हजार ३ सय २३ जना विद्यार्थी प्रतिनिधिहरुले क्रान्तिकारीको नयाँ नेतृत्वका लागि प्रत्यक्ष मतदान गर्नेछन् । यसैगरी बागमती प्रदेशबाट मात्रै ३ सय ३० प्रतिनिधि निर्वाचनमा सामेल हुनेछन् ।
सापकोटा र न्यौपानेको भने सर्वसम्मत हुने सम्भावना छ ।