म दिनेश राना । प्लस टु सकेर घरमा फुर्सदिलो थिए। केही काम थिएन। उसो त लकडाउन, म जस्ता अरु थुप्रै केटाहरु पनि हुँदाखादाको जागीर गुमाएर थचिएका थिए। जागीर पाउने भन्दा गुमाउनेको भिड थियो। लकडाउनको सकस। घर गोर्खा बिरिन चोक। घर जाउ भने पनि बाबुआमाको कचकच। त्यति पढिस भो अब जागीर खोज बेइलमी बस्न हुन्न भन्छन् उहाँहरु । जागिर खोजेर पाइने भए म रातदिन कारखाना-कारखाना अफिस-अफिस चाहार्थे हुला।
कहिलेकाही त कुनै रेस्टुरेन्टमा गएर भाडा माझ्ने काम पाए पनि गर्थे भने जस्तो लाग्छ। एक ठाउँमा पाएको पनि थिए। तर बिचराको जागीर खोसेर म किन काम गर्नु जस्तो लाग्यो। कान्तिपुरको बर्गिकृत बिज्ञापन हेर्यो। एप्लाइ गर्यो। बिसौ ठाँउमा फर्म भर्दा दुई महिना जतिको त तलब सक्किसक्यो यदि जागीर पाको भएनि । अब ब्याचलर पढ्नलाइ आफैले जागीर खोज्नु पर्ने बाध्यता थियो। दुई बैनीहरुलाइ पढाउनु थियो। उनीहरूलाई बाले तरकारी खेती गरेर जेनतेन पुर्याएका थिए। बुवा आफै त किड्निको बिरामी । गाह्रो काम गर्न हुन्नथ्यो । तैपनि अहोरात्र खटिनु भएको छ हाम्रो लागि ।
आमालाई पनि के भन्नू बरा। सारा बर्खा झरी बादलमा रुझेर अर्काको मेलापात भारो पर्म गरिरहनु भएको छ । बालाइ पनि सघाउनु पर्यो नि। आमालाई फोन गर्दा जहिल्यै कहिले बारिमा छु कहिले मेलामा छु कहिले भैंसी दुदै छु कहिले पदेरोमा छु भन्दा आँखा रसाएर आउँछ।
म ठुलो भैसके। तैपनि कर्तव्य निभाउन सकिरहेको छैन। यो उमेरमा त बाले बिहे गरेर घरजग्गा जोडीसक्नु भएको थियो। म जाबो नाथे एउटा मोटरसाइकल चढ्ने रहर पनि रहरमै रह्यो।
एक जना साथी थियो प्रेमध्वज । पारी भचेक गाउँको। हामी सँगै कलेज पढेको उ पनि बिरोजगारी थियो बरा के भन्नू । १५ दिन भो गाउँमा छु भन्थ्यो। उतै छ उ । मलाई नि घर जाउ जाउ लागेको त छ । आ फेरि उहि त हो। जागीर नपाए बिहे गर पनि भन्न थालेका छन बाले। आबुखैरिनीकी एउटा व्यापारीको छोरी सँग। कुरो गर्या छन रे । केटीले मलाई देख्याछिन रे । खै कसरी देखिन ? अचम्म लाइराछ। हुनसक्छ बसमा गोर्खा आउँदा जादा देखिन। अहिले आफुले आँफैलाइ पाल्न सक्ने स्थिति छैन । स्वास्नी कसरी पाल्नु। आर्काकी छोरी ल्याएर दुख दिनु झन अपराध हो नि ।
बैँस त कुकुरलाई आउँछ। बेरोजगारीले के बे गर्नु ?
एकदिन अचानक फोन आयो। प्रेमध्वजको :
-ओइ त कहाँ हो ?
-म काठमान्डु
-गोर्खा आइनस?
-आइन । जागीर पाइन्छ कि भनेर बस्या ! घर आयोकी बिहे गर भनेर कच कच सुरु हुन्छ ।
– गर्देन्त झन मोज
– ह्या केको मोज ! जागिर पाएसी बिहे गर्नी
-पाउछस गधा जागिर ! तेरो ससुरो जियम छन र !
– कहिले आउने ओइ यता ?
– सुन्न
– भन्त
– एउटा काम गर्नी त र म मिलेर ?
– गर्नी के काम भन्त ?
– जे काम भएनि त्यतै आएर भन्छु
– भन्न गधा
– बाउले ब्यापार गर्न भनेर पचास हजार दिनि भाछन के !
– पचास हजारले ब्यापार हुन्छ त गधा ल्वाठ सुङ्गुर ?
– हुन्छ के बुङ्गुर तलाइ के थाहा ?
– अनि के हो भन्नत !
– पचास हजार डिपोजीट राखेर एउटा एउटा बाइक किन्ने
– अनि ?
– बाँकी पैसाको साउ ब्याज कमाएर तिर्ने क्या बुङ्गुरे
– बाइक किनेर आम्दानी हुन्छ त सुङ्गुरे !
– हुन्छ क्या बुङ्गुर ! “पठाओ” भन्ने सस्थामा दर्ता गर्नी
– ल उसो भए छिटो आइज काठमान्डु
– ल राख। पर्सि आउछु। उतै आएसी गफ गरुला !
हिजो बेलुकी प्रेमध्वज आयो । नभन्दै उस्ले पचास हजार ल्याको रेछ। भोलिपल्ट हामी बाइक सोरुममा गयौ। उस्ले उतैबाट कुरा मिलाइसकेको रेछ। सोरुमबाट नयाँ बाइक निकाल्यौ दुवैले । मसँग सुको थिएन। तैपनि प्रेमध्वजको सहयोगले काम भयो। उसले उता कलन्किको कोठा छोडेर मेरोमै आयो। मेरोमा बाइक राख्नी ठाँउ पनि थियो। घरपेटिलाई भाडा नतिरेको तीन महिना भैसकेको थियो। अर्को मान्छे पनि थपिएसी घर पेटीले सोधपुछ गर्यो। र अचम्मित पनि भयो। दुइटा नयाँ बाइक भर्याङमुनी पार्क गरेको देखेर। मैले आफ्नो कुरा सबै भने। उ पनि खुसी भयो। दुईवटा बाइक “पठाओ” मा दर्ता गरियो । दर्ता गरेको भोलिपल्ट बाट काम पाइयो। कमाइ हुन थाल्यो। म खुसी हुन थाले। प्रेमध्वजले एउटा ठुलो गुन लायो मेरो जिन्दगीमा । घरमा आमालाइ जागीर पाए भने। आमाले सोधपुछ गर्नु भएन काहा कस्तो जागिर पाइस भनेर । र मैले पनि सबै कुरो भनिन। धन्न “ल अब जागीरे भईश बिहे गर्न आइज” चै भन्नू भएन ।
अब अलिक फुर्ति आउन थाल्यो। भोकले मरिन्न कि अब चै भन्ने लाग्न थाल्यो। काम भनेको चिज कस्तो पुजनीय हुदोरहेछ भन्ने कुरा महसुस हुन थाल्यो । पहिलो दिनमै तीन हजार कमाएछु। ६ सय रुपैयाँ चै पठाओ कम्पनीलाई कमिसन तिरे। मेरो भागमा चौविस सय पर्यो । महिना बित्यो। बाइकको किस्ता तिरियो। घरमा खर्च पठाए। बाबू आमा अनि बैनीहरु खुसी भए । आफुलाइ नयाँ लुगा हाले। कमाइ भएपछि अलिक हिरो पनि हुन मन लाग्दोरेछ। उसैत मलाई सबैले हिरो जस्तै भन्छन। राम्रो जिउडालको सलक्क परेको छु। यो उमेरमा पनि यतिको हिस्सी नपरे कहिले हुनु त भन्थे आफैलाइ ।
प्रेमध्वज पनि हिरो हुन थाल्यो । उ अझै म भन्दा धेरै कमाउन सक्छ। पठाओमा काम गर्न थालेपछि उपत्यकाको गल्ली गल्ली थाहा हुन थाल्यो। पछि मोबाइलमा गुगल म्याप हेरेर यात्रुलाई लोकेसन पुर्याउन थालियो। रमाइलो लाग्न थाल्यो आफ्नो पेशा । हिजोको बेरोजगारी दिनहरु सम्झिदा नि कस्तो कहाली लागेर आउँछ। जतासुकै भनसुन लाग्ने । आफ्ना मान्छे ठुलो पोस्टमा नहुनेले नेपालमा कहिले जागीर पाँउदैन। त्यसैले पो विवस रेछन नेपाली युवाहरू खाडि मुलुकमा जान । काम गरेको अनुभव कसरी दिनु जबकी बेरोजगारीले काम गर्ने मौका नै पाँउदैन भने। कुन्नी केके केके। अचम्म छ हाम्रो जागीरे ब्यवस्थापन ।
आज साथीले गुन लायो। उसको यो गुन कहिले तिरुला खै!
एक्कासि बजेको गाडीको कर्कसो हरनले तर्सिए। साइड लागे।
अनेक अनेक यात्रु भेटिन्छन। कोहि दयावान भेटिन्छन। कोहि कन्जुस भेटिन्छन। कोहि असल भेटिन्छन कोहि खराब भेटिन्छन।
भेट्ने र छुट्ने यो यात्रा चलिरह्यो निरन्तर करिब दुई महिना । म यो पेशामा रमाउन थाले। कतिबेला कहाँ र कुन लोकेसनमा यात्रु भेटिन्छन कुरेर बस्नुपर्ने हुन्छ । पठाओ पेशा सहज, सजिलो र रोमाञ्चक पेशा हो। खासै त्यस्तो दुख पनि हुँदैन । अल्सि लागेको बेलामा काम नगरु भन्दा नि हुन्छ। मोबाइलको डाटा अफ गरेसी सक्किगो। जसरी नि काम गर्न पर्छ भन्ने पनि छैन। उपत्यका भित्र मात्रै हो बाहिर जाने अनुमति हुन्न। यात्रुलाई पनि ठगिन्छु कि भन्ने चिन्ता हुँदैन । जति घण्टा काम गर्छु भन्दा पनि पाइन्छ।
म अहिलेसम्म त्यस्तो ठगिएको त छैन तर एक साझ चै ठगिए । ठमेलदेखी भक्तपुर सल्लाघारी पुर्याउनुथ्यो एउटा अर्धबैशे पुरुषलाई। हेर्दा पुरै जड्या देखिन्थ्यो । क्याप लाको थ्यो। मुख पनि पूरा नदेखाउने। बोली लर्बरिएको थियो। बाइकमा राखी हाले झार्दिउ भनेपनी रातभर चिसोमा मर्ला भन्ने त्रास। दुई हात कम्मरमा समात्न लगाए । च्याप्प समात्यो। तीनकुने पुगेपछि पाइन्टमै मुत्यो। मेरो पाइन्ट पनि भिज्यो। कस्तो गन्हाउने पिसाब ।
कतिवटा बियर पिएको दाइ भनेको “९ बोतल पिए भाइ” भने। मान्छे विद्वान हुन। अंग्रेजी फरर पिएको बेलामा मात्रै होकि !
बाटोभरी वाक वाक गरेर हैरान । धन्न रातीको समय थ्यो र पो नत्र बेज्जत। किन यस्तरी मात्तिने गरेर पिएको दाइ भनेको- ” गार्हो छ भाइ मलाई स्वास्नीको कारणले गर्दा म जड्या भए” रे! । मैले भने-रक्सी तपाई पिउने अनि घरकी श्रीमतीलाई दोष” ? सबै जाड खानेहरुले श्रीमतीलाइ नै दोष दिन्छन होला है ? मेरो उत्तर सुनेर ती दाइ त बाइकबाट हामफाल्न पो खोजे र बकबकाउन थाले-“मलाई यहि बाटोमा छोडेर जाउ भाइ । म हनुमन्तेको पुलबाट फाल हालेर मर्छु । के भनु तिम्लाइ आफ्नो कुरा निजि कुरा। अहिले म नभएको मौका छोपेर मेरी श्रीमती पनि उस्को लभरसग लठारिदै होलि । त्यही भएर म पनि ठमेल गाको ।”
ह्या यस्तासँग के वाद बिवाद गर्नु। घरको आगनमा पुर्याइदिए। त्यति राती १० बजे नभन्दै श्रीमती पनि घरमा रहिनछिन। काम गर्ने दुई जना नोकरले गेट खोले । भित्र दुइटा कार पार्क गरिएको थियो। यति भब्य घर मैलेत देखेकै पो रहेनछु जिन्दगीमा । वरिपरि बाग बगैचा छन। ठुलो छ कम्पाउन्ड । चारैतिर उज्यालो छ। “मै साहेब खोइत?” गेट खोलेर अगाडि ठिङ्ग उभिएका नोकरलाइ सोधे उन्ले। मैसाब दिउँसो चारै बजे निस्किनु भाको । दुवै नोकरको एकै आवाज थियो । बच्चाहरु दुवै अमेरिकामा रेछन। यता बाबुआमाको हालत यस्तो । बसेर बियर पिउ भाइ भन्दै थिए। मैले मानिन। पाँच हजार दिए। मैले भने “म बढि भाडा लिदिन”। यस्तो चिसोमा आको छौ मलाई सहि सुरक्षीत ल्यायौ लिग बाबू भने।
म निस्किए। कलन्की आइपुग्दा रातिको १२ बज्यो। फोन आयो बाइक रोके। मेसेज आयो। त्रिभुवन विश्वविद्यालयको क्वाटरबाट एक जनालाई छोड्न जानुपर्ने भो। राती भएपछि लोकेसन दिन असजिलो मान्छन ग्राहकले खोइ किन पो हो। बाइक फर्काए कलन्कीबाट । क्वाटर पुगे। बाइकको बत्ती देखेपछि परैबाट दुई जना ढाेकाबाट निस्किए। एउटी खाइलाग्दी महिला बाइकमा चढिन। मेरो कुममा समातिन तिन्ले कुनै धकै नमानि। हेर्दा निकै पढेलेखेकी जस्ती देखिन्थिन। शरीरमा महङ्गो परफिमको वासना । तर मुखबाट भने व्हिस्कीको गन्ध । पुरुषले लर्बरिएको स्वरमा हात हल्लाए। ती नकचरा प्रोफेसरले ती स्त्रीको गालामा लाजै नमानी फेरि झम्टेर चुम्बन गरे। मलाई असजिलो लाग्यो। रिसै उठ्यो। बाइक हुइक्याए। सोचे यो अवैध सम्बन्ध हो।
बैध सम्बन्धमा स्त्री पुरुष यति मरिहत्ते हाल्दैनन। तिनी केही बोलिनन। चुपचापले बसिन। बाइकको गतिको हावाले उन्ले पिएको ह्विस्कीको गन्ध ह्वात्तै मेरो मुखमा उडेर आइरहेको थियो। तल परिक्षा नियन्त्रण कार्यलय बल्खु पुगेपछि मैले सोधे :
– दिदी बाइक कता मोडु
– दिदी होइन प्रोफेसर डाक्टर सुनिता थापा भन्नुस
– हस हामी कता जान्छौं डाक्टर साहेब
– दायाँ मोड्नुस
– हस
बाइक अब चक्रपथमा ६० को गतिमा दौडिन थाल्यो। प्रोफेसर डाक्टर सुनिता थापालाई निकै चिसो भएछ। उनी मेरो जिउमा च्याप्पै समातेर टासिन आइन। मलाई असहज लाग्यो। केही बोल्न पनि धक लाग्यो । केही बोलु भने प्रोफेसर साहेबले थर्काउने पो हुन कि जस्तो लाग्यो। केही बोलिन। बाइक यातायात कार्यलय आसपास पुग्न लाग्दा बल्ल तिनी बोल्न थालिन-
– भाइ तिमी मलाई कहिलेकाही त्यहाबाट पिक अप गर्न सक्छौ ? म राम्रो पैसा दिन्छु नि।
– हस म आउछु। खबर पाँउ
-नम्बर दिनुस्न भाइको
मैले नम्बर दिए। उनी खुसी भइन। निकै धनाड्य देखिन्न्छिन तिनी। फेरि पनि किन यति चिसोमा “पठाओ”को यात्रा होला है भनेर सोचे। आज तिनी निकै मुडमा देखिन्छिन। अघिको प्यासेन्जरले पाइन्टमा पिसाब फेर्दा मेरो पनि पाइन्ट भिजेको थियो। उसैत रातिको चिसो त्याहा माथी रातिको हावा । डाक्टर थापा अहिले भने निकै काम्न थालिन। बाइकको स्पीड अलिक कम गरे। नसाको कारण बोली अस्पष्ठ र लर्बरिनु स्वभाविक थियो तिन्को। मैले केही सोधपुछ नगर्दा पनि तिन्ले आफ्नो निजि कुरा भनिन् :
– उहाँ अघिको मेरो राजा बोइ फ्रेन्ड उहाँ पनि प्रोफेसर डाक्टर
– आज किन अबेरसम्म बस्नु भएको डाक्टर साहेब ?
– आज शुक्रबार हामीले रमाइलो गरेको
– अब पर्सि पनि यहि ट्याममा आउनु है भाइ !
– हस
३० भन्दा माथिको स्पिडमा बाइक कुदाउन दिइनन् तिन्ले। आफ्नो पनि हातको औला धेरै चिसो भयो। पञ्जा लाएको थिइन।
अन्तत बाइक त्यही घरमा गएर रोकियो जहाँ अघि मैले ती अर्धबैसे पुरुषलाई छोडेको थिए। बाइक गेटमा पुगेपछि म अचम्मित भए । उन्ले मोबाईलमा फोन गरिन। ढोकाबाट तिनै मनुष्यले चिहाए जस्लाइ अघि एक घन्टा मैले छोडेर गएको थिए।
यो पटक भने त्यो भब्य घर भित्र छिरिन। प्रोफेसर डाक्टर सुनिता थापाले मेरो लाग्दो भाडा एघार सय दिइन। म फर्किए। रात चकमन्न थियो। खोइ किन पो अघि भन्दा अहिले त्यो घरको सौन्दर्य निभे जस्तो लाग्यो। मोबाईलमा प्रेम्ध्वजको फोन आइरहेको थियो। उठाइन । दुरि लामो थियो। सितापाइला चोक पुग्न झन्डै पैंतालीस मिनेट लाग्छ। खै म के के सोच्न थालेछु।
बिहे गरेर पनि के गर्नु स्वास्नीलाई अरुले खेलाउदोरेछन। पुरुष त पुरुष भए लाजहीन तर नारी त धर्ती थिइन नि किन फेरि तिनै नारी पनि पतित हुन्छिन् ? पुरुषमा कुन त्यस्तो जादुगिरी छ जस्का कारण नारी सर्वाङ्ग हुन्छिन होला है ! कुन मोह मादले स्त्री लाज खोल्छिन? त्यो प्रोफेसर तिन्को राजा रे ! छि जड्या प्रोफेसर ! त्यस्को पतलुङ्गको इदार पनि खुलै थियो। राती कस्ले देख्छर भनेर होला। लाज सक्किएका मनुवाहरु।
कति हास्नु ! नकचरो ! मेरै अगाडि केटीलाई म्वाइ खाको। कमसेकम अर्काकी स्वास्नीलाइ त नखेलाउनु नि हो ? प्रोफेसर डाक्टर सुनिता थापा यत्रा विद्वान महोदयहरुको त यस्तो आचरणले हुदोरहेछ अनि कसरी अग्रगती लिन्छ नेपाली समाजले। पढेलेखेकै मानिसहरूको यस्तो आनिबानी हुदोरहेछ अनि अरु सामान्य मान्छे र अशिक्षित मान्छेको हालत के होला ! मलाई त कहाली लाग्यो। कति अभागी रेछन ती प्रोफेसर सुनिता थापाको श्रीमान। जस्को विद्वान श्रीमती अर्कै विद्वानसँग अबैध सम्बन्ध राख्दिरहिछन। यस्तै-यस्तै विद्वानहरुले बिगारेको नेपाली समाज अनि पो अनपढ मनुष्यहरुले राजनीति गरेर यीनै विद्वान माथी घोडा चढ्दारहेछन ।
सोच्दा सोच्दै कोठा पुगेको पत्तै भएन। प्रेमध्वज आइसकेको रेछ । ढोका ढकढकाए। बिचरो जाडाेमा भात पकाउदै रेछ। (कथाका पात्रहरु केबल काल्पनिक हुन् ।)