काठमाडौं । प्रधानमन्त्री कप महिला टि-२० को उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ ।
आज (बुधबार) त्रिवि किक्रेक मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन मात्रै बनायो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए । एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ११४ रन बनाएको थियो । एपीएफको लागि लागि इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे ।
बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । अलिसा खडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १/१ विकेट लिए ।
कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसै प्रतियोगितामा कोशी तेस्रो पटक एपीएफसँग नै पराजित भएको हो ।