काठमाडौं । अमेरिकाले सबै अन्तर्राष्ट्रिय वैदेशिक सहायतालाई तत्काल रोक लगाउने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति अन्तर्गत वैदेशिक सहायतामाथि समीक्षा आवश्यक रहेको भन्दै तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
विदेश मन्त्रालयले आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई आन्तरिक पत्र पठाउँदै सहायताका कार्यक्रमलाई तत्काल रोक लगाइएको र नयाँ सहायता दिने कार्यक्रमलाई पनि स्थगित गरिएको जनाएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार समीक्षापछि मात्रै सहायता कायम राख्ने वा बन्द गर्ने भन्नेबारे निर्णय हुनेछ ।
ट्रम्पले २० जनवरीमा अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सपथ लिएका थिए । उनले सपथ लिएकै बखत वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
जुन आदेशलाई मन्त्रालयले आफू मातहतका निकायहरुलाई पठाएको हो ।
अमेरिकाले गरेको निर्णयबाट विश्वभर सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कार्यक्रमहरु प्रभावित हुनसक्ने देखिन्छ । अमेरिकाले यस्ता शीर्षकमा ठूलो रकम खर्च गर्दै आएको छ ।
अमेरिकाको यस्ता सहयोग गरिब र युद्धग्रस्त देशहरुमा हुने गरेको छ । जुन निर्णयसँगै तत्कालै युक्रेन प्रभावित हुनेछ भने नेपाल जस्ता देशमा पनि यसको प्रभाव पर्ने देखिन्छ ।
विगतमा जो बाइडेन प्रशासनले रुस–युक्रेन युद्धमा युक्रेनलाई विभिन्न शीर्षकमा अरबौं सहयोग गर्दै आएको छ । २०२२ देखि २०२४ को बिचमा अमेरिकाले १८३ बिलियन डलर भन्दा बढी रकम विभिन्न शीर्षकमा युक्रेनलाई सहयोग गरेको छ ।
नेपाललाई के असर ?
अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो । उसले सन् २०२३ मा मात्रै ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रदान गरेको थियो ।
अमेरिकाले वैदेशिक विकास सहायताअन्तर्गत सहयोग गर्ने देशमा नेपाल पनि शीर्ष स्थानमै पर्दछ । अमेरिकाले विभिन्न कार्यक्रमका नाममा अर्बौं डलर रकम नेपाललाई पनि सहयोग गर्दै आएको छ ।
विशेषगरी अमेरिकाले नेपाललाई कृषि, सुशासन, विपद्, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा सहयोग गर्दै आएको छ । अमेरिकाले यस्ता अधिकांश कार्यक्रम यूएसएआईडीमार्फत गर्ने गरेको छ ।
अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँच वर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान प्राप्त हुने उल्लेख छ ।
साथै, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ५५ करोड डलरको परियोजना सञ्चालनमा छ । एमसीसी परियोजनामार्फत पनि अमेरिकाले नेपालको सडक र विद्युत् पूर्वाधार क्षेत्रमा सहयोग सुरु गरेको छ ।
यद्यपि, अमेरिकाको पछिल्लो नीतिले यस्ता कार्यक्रम प्रभावित हुने देखिन्छ ।