काठमाडौं । जहाज अभावका कारण नेपाल वायुसेवा निगमको आन्तरिक उडान अनिश्चित भएको छ ।
इन्जिनको अभावमा निगमको दुईवटा टुइनअटर जहाज 9N-ABT र अर्को 9N- ABU ग्राउन्डेड (भुमिस्थ) छन् । यसबाट आन्तरिक तर्फका थुप्रै स्टेशनहरुका सेवा प्रभावित भएका छन् । आन्तरिक उडानबाट वर्षेनी करोडौं रुपैयाँ घाटामा गइरहेकोले पनि आन्तरिक उडानलाई व्यवस्थापनले खासै चासो दिइरहेको पाइँदैन ।
इन्जिन बिनाका दुई जहाजहरु ह्याङगरमा काम बिहिन भएर बसिरहेको अवस्थामा छ। चार हजार घण्टा उडान भरेपछी इन्जिन ओभरल गर्न ओभरल कम्पनीमा पठाउन पर्नेमा अहिलेसम्म पनि ग्राउन्डेड भएका दुवै इन्जिन ओभरल गर्न पठाइएको छैन। इन्जिन कहिले आउँछ ? कहाँबाट आउछ ? भन्ने कुरामा इन्जिनियरिङ विभागका कर्मचारीहरु पनि अनभिज्ञ रहेको पाइयो।
निगमको जहाज भाडादर सस्तो र सरकारी एयरलाइन्स भएको कारण पनि आन्तरिक उडानका यात्रीलाई मर्का परेको र दुर्गमका नागरिकहरु छिटोभन्दा छिटो नेपाल एयरलाइन्सको उडान पुन संचालन होस् भन्ने चाहिरहेका छन् । टुइनअटर जहाजका सम्बन्ध लाइसेन्स प्राप्त इन्जिनियरहरु र टेक्निसियनहरु यतिबेला काम बिहिन अवस्थामा छन । त्यस्तै आन्तरिक स्टेशनका कर्मचारीहरु पनि काम बिहिन जस्तै बनेका छन् ।