काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि अस्वस्थ छन् । जसको कारण उनी खास सार्वजनिक कार्यक्रममा उपस्थित छैनन् ।
तर, अस्वस्थताकै बिच ओलीले शुक्रवार सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गरे । उनले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
अस्वस्थ भएपछि आराम गरिरहेका ओलीले गरेको सम्बोधनको निचोड थियो– सरकार परिवर्तन हुँदैन ।
“सरकार परिवर्तन हुँदै छ भन्ने अस्थिरता मच्चाउने तत्त्वहरूले चलाएको हल्लाको पछि नलाग्नुहोला, पूर्वसहमतअनुसार नै यो सरकार २०८४ को चुनावसम्म जान्छ”, ओलीले छोटो सम्बोधनका क्रममा भनेका छन् ।
ओलीको जस्तै अभिव्यक्ति एमालेका नेताहरुले सिलसिलेवार रूपमै दिने गरेका छन् । नेताहरूले २०८४ सम्म नै गठबन्धन सरकार जाने बताइरहेका छन् ।
“हामीबिच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ, सबैले स्पष्ट भए हुन्छ”, आइतबार बर्दिबास पुगेका सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भनेका छन्, “सरकार तलमाथि हुँदैन ढुक्क हुनुहोस् ।”
यद्यपि, सत्ता साझेदार कांग्रेसभित्रबाट भने सरकारको खास बचाऊ शैलीमा अभिव्यक्ति आइरहेको छैन । सभापति शेरबहादुर देउवा मौन देखिँदा अन्य नेताहरूले सरकारको आलोचनामा मात्रै गरिरहेका छैनन्, सरकारकै भविष्यलाई लिएर पनि प्रश्न गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले एमाले बैठकमा ‘संविधान संशोधन २०८७ मा मात्रै हुन्छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसका केही नेताले ‘गठबन्धनकै औचित्य सकिएको’ समेत टिप्पणी गरे । डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीमात्रै होइन, देउवा समूहकै मानिने डा. डिला संग्रौला, एनपी साउदले गठबन्धनको औचित्य सकिएको बताएका छन् ।
यद्यपि, जसलाई अहिले कांग्रेस नेतृत्व टालटुल पार्न जुटेको छ । अध्यादेश पारित गरेर भएपनि देउवाले सरकारमाथिको प्रश्नलाई तत्कालका लागि थामथुम गराएका छन् ।
तर, माघ ८ मा कांग्रेसका दुई प्रभावशाली नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई सँगै राखेर प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति भने असामान्य छ । प्रचण्डले दुई नेतालाई दायाँ–बायाँ राखेर सरकारको भविष्य मात्रै तोकेका छैनन्, नयाँ सरकारको पार्टनर कांग्रेस भएको बताएका छन् ।
“यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन, मैले प्रस्ट भन्ने गरेको छु, यो प्राकृतिक छैन, स्वाभाविक छैन, पारदर्शी छैन, सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्”, कोइराला र भण्डारीलाई दायाँ–बायाँ राखेर प्रचण्डले भनेका छन् ।
जसमा कांग्रेस नेता डा. कोइरालाको पनि खास विमति जनाउने खालको अभिव्यक्ति छैन । “ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ तर, नहुने होइन”, कोइरालाले भनेका छन्, “राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौँ ।”
कोइरालाको अभिव्यक्तिले स्पष्ट पार्छ, सरकारलाई निरन्तरता दिने वा नदिने भन्ने कोणबाट कांग्रेस विभाजित छ । कांग्रेसको इतर पक्ष सरकारको विकल्प खोज्न खुलारुपमा देखिँदा स्वयम् संस्थापन पक्ष पनि सरकारलाई निरन्तरता दिने सवालमा एकमत छैन ।
कांग्रेसभित्रको यो मनोविज्ञानको बिचमा माओवादी कसरी नयाँ गठबन्धन बनाउने भनेर कस्सिएको छ । माओवादीले एकातिर संसदका विपक्षीलाई समेटेर विपक्षी गठबन्धन बनाएको छ भने अर्कोतिर संसद् बाहिर रहेको विप्लव समूहलाई समेत समेटेर समाजवादी मोर्चा बनाएको छ । जुन मोर्चाको आडमा माओवादीले सरकारको मिति तोकिरहेको छ ।
कांग्रेस विभाजित बन्दा र माओवादीले मिति तोक्दा ‘बिजुली चम्किँदा त्रर्सिएको’ बिरालो झैँ एमाले पनि त्रर्सिरहेको छ ।
गत असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार देउवालाई सत्ताको नेतृत्व पाउन अझै डेढ वर्ष कुर्नुपर्छ । तर, ठूलो दलको हैसियतमा कस्सिँदा तत्कालै नयाँ सरकार बन्ने अवस्था छ ।
सँगै, माओवादी केन्द्रले ओलीलाई विस्थापित गर्न विपक्षीबिच मोर्चा बनाएर झन्डै ८० सिट जुटाएको छ ।
यद्यपि, देउवाले देखाएको मौनता निकै अन्योल बनाउने खालको छ । कांग्रेसभित्र निर्णय नै देउवा भएको कारण उनको मौनतालाई सामान्य लिन सकिन्न ।
देउवाले अध्यादेशलगायतका विषयबाट ओलीलाई सहजीकरण गरिदिएका छन् । सँगै, उनले ओली सरकार विरोधी अभिव्यक्ति पनि दिइरहेका छैनन् । ‘नबोलेरै आफू अनुकूल बनाउने’ देउवा रणनीतिक कता लक्षित छ, बुझ्न कठिन छ । तर, देउवाले आफू अनुकूल परिस्थिति बनाउँदै गरेकोमा भने कत्ति दुबिधा छैन ।