काठमाडौं । सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा आइतबार रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्यो । अदालतले ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै ठहरेबमाजिम हुने गरी धरौटीमा छाड्न आदेश गरेको थियो ।
अदालतले तथ्य र आधार देखाएर १ करोड रुपैयाँ धरौटी, जेथा जमानत वा सर्तसहित बैङ्क ग्यारेन्टी लिएर मात्रै रिहा गर्न, नसके थुनामा पठाउन आदेश गरेको थियो ।
“मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम एक करोड रुपैयाँ धरौटी लिई तारिखमा राख्नू”, जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीले दिएको आदेशमा भनिएको छ ।
अदालतले आदेश दिए लगत्तै १ करोड रुपैयाँ बैङ्क ग्यारेन्टी देखाएर रास्वपा सभापति लामिछाने रिहा भए ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी अपचलनको मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ६० लाख रुपैयाँ धरौटी देखाएर रिहा भएका थिए । दुवै अदालतमा उनले धरौटीका लागि बैङ्क ग्यारेन्टीको प्रयोग गरेका छन् ।
रुपन्देही जिल्ला अदालतको आदेशसँगै उनले कुल २ करोड २५ लाख रुपैयाँ धरौटीको लागि बैंकबाट ग्यारेन्टी लिएका छन् ।
सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध चितवन र पर्सामा पनि बेग्ला–बेग्लै मुद्दा दर्ता भएका छन् । वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ भने चितवनको साहारा चितवन सहकारीको रकम अपचलनमा चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सूर्यदर्शन सहकारीको अपचलनको मुद्दामा कास्की प्रहरीमा हिरासतमै रहँदा लामिछानेलाई प्रहरीले बयानका लागि दुवै जिल्ला पु¥याएको थियो । रुपन्देही जिल्ला अदालतले आदेश दिएसँगै लामिछाने अब दुई जिल्ला अदालत धाउने निश्चित देखिएकाे छ । यस्तोमा दुवै जिल्ला अदालतले लामिछानेसँग धरौटी माग्ने पनि निश्चित जस्तो देखिन्छ ।
रास्वपाका सहप्रवक्ता रमेश प्रसाइँका अनुसार धराैटीका लागि लामिछानेले प्रभु बैंकको ग्यारेन्टीलाई प्रयोग गरेका छन् । उनका अनुसार लामिछानेको एक आफन्तको नाममा रहेकाे जग्गा धितोमा राखेर बैङ्कले ग्यारेन्टी दिइरहेको छ ।
बैंककै भूमिकामाथि प्रश्न
नेकपा (एमाले)का नेता महेश बस्नेतले लामिछानेलाई प्रभु बैङ्कले कसरी पत्याइरहेको छ ? भन्दै प्रश्न गरेका छन् । लामिछाने र बैङ्कबिचको सम्बन्ध पारदर्शी हुनुपर्ने माग बस्नेतको छ ।
“सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाखदेखि २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैङ्कहरूले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?”, बस्नेतले प्रश्न गरेका छन्, “प्रभु बैङ्क र रवि लामिछानेबिचको कनेक्सन के हो ? प्रभु बैङ्क र गोर्खा मिडियासँगको कनेक्सन के हो ?”
वरिष्ठ पत्रकार राधाकृष्ण कटुवाल पनि बैङ्कले दिएको ग्यारेन्टीमाथि प्रश्न गर्दछन् । धरौटीमा लामिछानेले आयस्रोत र धितो राखे वा राखेनन् ? उनको जिज्ञासा छ ।
“बैङ्कमा बचत गरेको पैसा सरकारीमा ३ बजे र निजी बैङ्कमा ४ पछि झिक्न पाइँदैन, अदालतमा ५ बजेपछि तारिख दिन पाइँदैन तर, अदालतको आदेश आउँछ ७ बजे बैङ्कले जमानत दिन्छ ८ बजे !”, उनी भन्छन्, “हैन यो कस्तो खालको व्यवस्था हो बुझ्नै सकिएन, बैङ्कले ऋण दिँदा आयस्रोत र धितो दुवै चाहिन्छ, रविले चाहिँ के राखेछन् ?”
बैङ्क ग्यारेन्टीले अर्को कानुनी प्रश्न
अधिवक्ता कृतिनाथ शर्मा पौडेल बैङ्कले दिएको ग्यारेन्टीको घटनाले अर्को कानुनी प्रश्न उब्जिएको बताउँछन् । स्वयम् लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लागेको कारण सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका व्यक्तिमाथि बैङ्कले पत्याएर लगानी गर्नु आफैँमा शंकास्पद भएको उनको भनाई छ ।
“लामिछानेमाथि अहिले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि छानबिन चलिरहेको छ, उनीमाथि सो विषयमा छानबिन चल्दै गर्दा बैङ्कले ग्यारेन्टीमा लगानी गर्नु अर्को कानुनी प्रश्न उब्जाउने विषय हो”, अधिवक्ता पौडेल भन्छन्, “भोलि यी ग्यारेन्टीको स्रोतमाथि पनि अर्को कानुनी बहस नहोला भन्न सकिन्न ।”
मुद्दा चलिरहेको व्यक्तिमाथि बैङ्कहरूले ग्यारेन्टी बसिदिनु बैङ्क सञ्चालक स्वयम् पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा आकर्षित हुनसक्ने उनको भनाई छ । “विदेशमा पनि यस्ता घटना भएको पाइन्छ, अहिले लामिछानेमाथिको घटनामा पनि सो विषय लागु नहोला भन्न सकिन्न”, उनले भनेका छन्, “बैङ्क ग्यारेन्टीको विषयले यी प्रश्न उब्जाएको छ ।”
अधिवक्ता शर्मा जस्तै अर्का अधिवक्ता सुरेन्द्र तिमल्सिना पनि लामिछानेको बैंक ग्यारेन्टीको विषयले प्रश्न उठाएको बताउँछन् । “न बैंकको समय, न बैंकको प्रक्रिया, सम्पत्ति शुद्धिकरणको मुद्दामा छानबिन चलेका व्यक्तिलाई कसरी सहजै बैंक ज्ञारेन्टी प्राप्त हुन्छ”, तिमिल्सिना भन्छन्, “यो अर्को कानुनी प्रश्न हो ।
कति छ लामिछानेको सम्पत्ति ?
दोस्रो पटक गृहमन्त्री भएपछि लामिछानेले गत जेठ ३ मा सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तत्कालीन समय सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना जग्गा, करिब ८० तोला सुन, १५ देखि २० केजी चाँदी, एक लाख १० हजार रुपैयाँ बैङ्क ब्यालेन्स छ ।
सँगै, उनकी पत्नि निकिता पौडेलको नाममा काठमाडौंको बुढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा, काठमाडौं वडा नम्बर ७ मा १० रोपनी जग्गा (सगोल) र बैङ्क खातामा ५ लाख ५८ हजार रुपैयाँ रकम छ ।
साथै, निकिताको नाममा ८ करोड ७५ लाख रुपैयाँ बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको छ । सँगै, उनीको नाममा बैङ्कमा एक करोड ५० लाख रुपैयाँ ऋण पनि छ ।