काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १०.६१ अंकले घट्दै नेप्से २६३३.३२ को बिन्दुमा ओर्लिएको छ ।
यसअघि आइतबार १०.४१ र बिहीबार ११.१० अंकले नेप्से घटेको थियो ।
दोहोरो अंकले नेप्सेमा गिरावट हुँदै गर्दा सोमबार कारोबार रकम पनि केहीले घट्यो । आइतबार ९ अर्बमाथिको कारोबार भएकोमा सोमबार ८ अर्ब ९२ करोडमै कारोबार रकम सीमित भयो । जुन १ करोड ७२ लाख ५३ हजार सेयर किनबेच हुँदा भएको थियो ।
सोमबार ५ समूहको सूचकमा बृद्धि हुँदा ८ समूहको सूचक घट्यो । फाइनान्सको सूचक सबैभन्दा बढी ३.४६ प्रतिशतले बढ्दा व्यापारको सूचक सबैभन्दा बढी १.८४ प्रतिशतले घट्यो ।
कारोबारमा आएका १०५ कम्पनीको मूल्य बढ्दा १२९ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
न्यादी हाइड्रो, जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत हाराहारीले बढ्यो ।
सोमबारको कारोबारले नेप्सेमा करेक्सनको तह नसकिएको संकेत गरेको बजारका जानकारहरु बताउँछन् । सँगै, कारोबार रकमले भने बजारमा लगानीकर्ता सक्रिय भइरहेको देखिने जानकारहरुको भनाई छ ।
यसअघि गत साताको चार कारोबार दिन लगातार बढ्दै नेप्से २५८८ को बिन्दुबाट २६६५ को बिन्दुमा उक्लिएको थियो । झण्डै ८० अंकले नेप्सेमा बृद्धि भएको थियो ।