काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आमरुपमा चासो देखिन्छ, के उनी पूर्व राष्ट्रपतिको ओजलाई छाड्दै एमालेको सक्रिय राजनीतिमा फर्किलिन् ? जुन प्रश्नलाई उनले खास महत्व दिने गरेकी थिइनन् ।
यद्यपि, एमालेभित्र उनको पुनरागमनको विषयलाई लिएर निकै माथापट्टि चलिरहेको छ । दोस्रो तहका केही नेताहरू भण्डारीलाई पार्टी अध्यक्षकै जिम्मेवारी दिएर भित्र्याउनु पर्ने भन्दै लबिङमा देखिँदा अध्यक्ष केपी शर्मा ओलीले भने सार्वजनिकरुपमै असन्तुष्टि प्रकट गरिरहेका छन् ।
उनले भण्डारीलाई ‘राष्ट्रिय सम्मान लिएर बस्नु’ भन्ने सन्देश दोहोर्याएर दिइरहेका छन् ।
गत पुस तेस्रो साता बसेको एमालेको केन्द्रीय समिति बैठकमा पनि ओलीले भण्डारीलक्षित अभिव्यक्तिहरू दिएका थिए । उनले भण्डारीको पुनरागमनलाई पार्टी बैठकमा ठाडै अस्वीकार गरेका छन् ।
तर, भण्डारीले भने एमाले फर्किने सम्भावनाबारे खुलारुपमा अभिव्यक्ति दिन थालेकी छिन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले एमाले फर्किने सम्भावनाबारे बोलेकी छिन् ।
“जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा म अहिले प्रवेश गरेकी छैन”, भण्डारीले भनेकी छिन्, “भोलि जाँदा एमालेबाटै जन्मेर, हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ ।”
जनताले उठाएका थुप्रै एजेन्डा अझै कार्यान्वयन नभइसकेको भन्दै उनले जसका निम्ति आफूले पनि राजनीतिक सक्रियता आवश्यक देखेको बताएकी छिन् । सँगै, भण्डारीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको पुनरागमनप्रति पनि खुसी व्यक्त गरेकी छिन् ।
“उहाँ युवा हुनुहुन्छ, अनुभव छ, राजनीति गरेर आउनु भएको हो”, उनले भनेकी छिन्, “म राष्ट्रपति र उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो, खुसी नै लागेको छ, उहाँलाई मेरो शुभेच्छा छ ।”
पूर्व राष्ट्रपति भण्डारीले यो अभिव्यक्ति त्यो ठाउँबाट दिएकी छिन्, जुन ठाउँलाई उनको आधार इलाका भनेर बुझिन्छ । जहाँबाट नै उनले सक्रिय राजनीतिको औपचारिक सुरुवात गरेकी थिइन् ।
विद्यार्थी राजनीतिबाट उदाएकी भण्डारीले २०३० को दशकमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट राजनीतिक जीवन थालेकी थिइन् । राष्ट्रपति बनेपश्चात् पुनः सक्रिय राजनीतिमा फर्किने चर्चाका बिच भण्डारी मोरङ झरेर यस्तो अभिव्यक्ति दिएकी हुन् ।
सोमबार विराटनगर ओर्लिएकी भण्डारीको गृह जिल्ला मोरङमा साताव्यापी कार्यक्रम तय भएको छ । जसको व्यवस्थापन एमाले मोरङ पूर्व अध्यक्ष विनोद ढकालले गरेका छन् ।
बताइएअनुसार उनी इटहरीको जनता स्कुल, मनमोहन विश्वविद्यालय, मदन भण्डारी ट्रमा सेन्टर, मदन भण्डारी स्मृति प्रतिष्ठानलगायतका कार्यक्रममा सहभागी हुनेछिन् । सँगै, विभिन्न भेटघाटका कार्यक्रममा सहभागी हुनेछिन् ।
भण्डारीका यी कार्यक्रम देखिँदा औपचारिक र सार्वजनिक शैलीका देखिए पनि नितान्त: राजनीतिक देखिन्छन् । उनको कार्यक्रमको व्यवस्थापन नै एमालेको टिमबाट भएको छ ।
राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी २०८० को असार १४ मा पहिलो पटक राजनीतिक आवरणको कार्यक्रममा उपस्थित भएकी थिइन् । मदन भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनी प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली विशेष अतिथि रहेको उक्त कार्यक्रममा उपस्थित भण्डारीले ‘क्रान्तिको कार्यभार पूरा नभएको’ बताएकी थिइन् । उनले पहिलो पटक राजनीतिक भाषामा आफूलाई प्रस्तुत गरेकी थिइन् ।
योबिचमा भण्डारीको नाममा अनेकन चर्चाहरू भए । सतहमा विभिन्न आवरणमा घटनाहरू पनि देखिए । यद्यपि, चर्चाहरूले औपचारिकता पाएका छैनन् ।
तर, एमालेभित्र र बाहिर बढ्दो चर्चाका बिच उनको सक्रियता निकै अर्थपूर्ण देखिन्छ । उनको यो शैलीलाई एमालेको सक्रिय राजनीतिमा फर्किने ‘वार्मअप’को रूपमा लिन सकिने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
“संविधानले छेक्दैन, उमेरले छेक्दैन, विश्वमा यस्ता उदाहरण पनि धेरै छन्”, वामपन्थी विश्लेषक मुकुन्द आचार्य भन्छन्, “वापमन्थीहरुमा साझा व्यक्ति को भन्ने भएको छ, जसमा उनको नाम अगाडि आएको देखिन्छ । यो घटनाहरू फर्किने वार्मअप हुन सक्छन् ।”
आचार्यका अनुसार एमालेभित्रको एउटा तप्का र वामपन्थी नेताहरूले भण्डारीलाई साझा व्यक्तिका रूपमा अघि सार्दै वामपन्थीहरूबिच एकताको अभियान चलाउन खोजिरहेका छन् ।