काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ को मंसिरसम्म चल्ने दाबी गरेका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले दिनहुँ सरकार ढल्छ भनेर हल्ला फैलाइएको तर, सरकार ०८४ सालसम्म टिक्ने दाबी गरेका हुन् ।
‘यो हप्ता ढलेन भने अर्को हप्तालाई म्याद सारिदिए। यो महिना ढलेन, अर्को महिनालाई म्याद सारिदिए। साउनमा ढलेन, भदौलाई म्याद सारे। भदौमा पनि ढलेन, दसैँमा सारे। दसैँमा ढलेन मंसिरलाई सारे,’ ओलीले भनेका छन्, ‘कुन मंसिर? २०८४ मंसिरसम्म ढल्न सक्छ। तर, मान्छेले अस्तिको मंसिर बुझे। २०८४को मंसिरको चुनाव हुन्छ त्यतिबेला सरकार बदलिन्छ।’
बैठकमा ओलीले संसद्मा पूरा समय बस्न र समितिको बैठकमा दिनहुँ जान पनि निर्देशन दिएका छन् । उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पूरा समय बैठकमा उपस्थित हुनुपर्ने बताए।
‘समितिहरुमा हाम्रो उपस्थिति तुलनात्मकरुपमा राम्रो छ, तुलनात्मकरुपमा मात्रै राम्रो छ,’ निर्देशनात्मकरूपमा ओलीले भने, ‘त्यसकारण संसद्मा, समितिका बैठकहरुमा हाम्रो उपस्थिति पुरा समय हुनुपर्दछ। र, कुनै पनि कुरा गलत ढंगले पारित भएर जानु भएन। अनुपस्थित भइयो भने के पारित हुन्छ, के पारित हुन्न।’