

काठमाडौं । चार महिनाअघि मात्रै सिटिजन्स बैंक इन्टरनेसनलको खाताबाट ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ चोरी भयो । बैंकमा रहेको एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि.को खाताबाट सो रकम ह्याक गरी चोरी गरिएको थियो ।
तीन दिन लगाएर असोज १५ देखि १८ गतेको बिचमा ह्याकरले खाताबाट रकम चोरेका थिए । जुन घटनाको सुइँको न त बैंकले पायो, न त खातावाल एफ वान सफ्टले नै ।
सँगै, घटना थाहा पाएपछि पनि लामो समय गुपचुप बनाउन खोजियो । कारण थियो, रकम चोरी भएको खातावालले नै सिटिजन्स बैंकको सिस्टमको जिम्मा लिएको थियो । एफवान सफ्टले नै बनाएको सिस्टमको सुरक्षा प्रणाली ब्रेक गरेर ह्याकरले रकम अन्य खातामा ट्रान्सफर गरेका थिए ।
घटना भएको ५ दिनपछि असोज २० मा मात्रै एफवानसफ्टले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो । जुन घटनालाई प्रहरीले समेत गोप्यरुपमै छानबिन थाल्यो ।
एफवानसफ्ट, सिटिजन्स बैंक, नेपाल राष्ट्र बैंक र प्रहरीबिचको सहमतिमा घटनालाई गोप्य राखिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा २४ जनालाई प्रतिवादी बनाउँदै अभियोग दर्ता भएसँगै घटना बाहिरिएको हो ।
यद्यपि, यो घटनाको किनारासम्म पुग्न सहज देखिएको छैन । जसले समग्र बैंकिङ सिस्टममाथि नै प्रश्न उठाएको छ ।
एफवान सफ्टको खाताबाट रकम चोरी भएको घटना थाँती रहेकै बखत अर्को वाणिज्य बैंक एनएमबि बैंकमा अनौठो घटना देखिएको छ । बैंकका खाता रहेका थुप्रैको खाताबाट एकै पटक रकम हराएको छ ।
अहिले उक्त घटनालाई थामथुम पार्न बैंकले खातावालको खातामा रकम मिलान गरेको छ तर, त्यसरी हराएको करोडौँ रकम भने बैंकले फिर्ता ल्याउन सकेको छैन ।
बैंकको सिस्टममा एकै पटक गडबडी भएपछि हुँदै नभएको खातामा पनि पैसा देखिएको थियो भने भएकाको खाताबाट पैसा हराएको थियो । आफ्नो खातामा आकस्मिक ढंगबाट लाखौं पैसा आएपछि केही खातावालले अन्य बैंकका खातामा पैसा ट्रान्सफर गरे भने केहीले खर्च गरेर सकाए ।
तर, अहिले पनि बैंकलाई करोडौँ रकम मिलानमा समस्या परिरहेको छ ।
बैंक नेतृत्व सिस्टम अपग्रेड गर्दा समस्या आएको भन्दै पन्छिने प्रयासमा छ । बैंकका डेपुटी सिइओ सुदेश उपाध्यायका अनुसार बैंकको सिस्टम अपग्रेड गर्दा त्यस्तो समस्या देखिएको थियो, जुन अहिले फिर्ता गर्ने प्रक्रिया थालिएको छ ।
“सिस्टम अपग्रेड गर्दा त्यस्तो समस्या आएको थियो, केहीका खाताबाट पैसा फिर्ता भइसकेको छ भने केहीबाट फिर्ता गराउने प्रक्रिया थालिएको छ”, उनले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् ।
यद्यपि, बैंक म्यानेजमेन्ट टिमको लापरबाहीले बैंकलाई भने ठूलो क्षति भएको छ । सँगै, बैंककै सिस्टममाथि पनि प्रश्न उठेको छ ।
बैंकहरुको सिस्टममाथि नै प्रश्न
तीन वर्षअघि नियामक नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकलाई ह्याक गरी खाता खाली गर्ने चुनौती दिँदै इमेलहरू एकै पटक इमेल आए । ह्याकरले कमजोर बैंकिङ सिस्टमलाई आधार बनाउँदै ह्याकको चुनौती खुलारुपले नै दिएको थियो ।
उक्त घटनापछि केन्द्रीय बैंकले समग्र सिस्टमलाई व्यवस्थित गर्न लागेको थियो । यद्यपि, योबिचमा पनि बैंकहरुमा एकपछि अर्को गरी ह्याकका घटना भने घटिरहे ।
एकपछि अर्को गरी बैंकिङ सिस्टममाथि नै प्रश्न उठाउने गरी ह्याकका घटना घट्दा नियामक केन्द्रीय बैंक भने खास सचेत देखिएको छैन । बैंकले बैंकिङ सिस्टमलाई व्यवस्थित गर्न खास कार्यक्रम बनाएको देखिन्न ।
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको बैंकिङ सिस्टममा ठूलो अपग्रेडको खाँचो देख्छन् । उनका अनुसार अहिलेको शैलीले हाम्रो बैंकिङ सिस्टम निकै जोखिममा रहेको देखाउँछ ।
“सूचना प्रविधिमा विश्व धेरै अगाडि बढिसक्यो, एकपछि अर्को गरी सिस्टमहरू विकास भइरहेका छन्, जुन हाम्रो जस्तो देशका निम्ति चुनौतीको विषय हो”, क्षेत्रीले भनेका छन्, “हामी पुरानै ढर्राबाट, सस्तो सिस्टमबाट चलाउन खोज्छौं, जसको कारण एकपछि अर्को गरी समस्याहरू देखिन्छन् ।”
अहिले सिटिजन्स वा एनएमबि बैंकमा आएको समस्या सिस्टमको समस्या भएको भन्दै जसतर्फ राष्ट्र बैंकले सचेततापूर्वक कदम चाल्नुपर्ने उनको भनाई छ ।