फेरि सडक आन्दोलनमा उत्रिए आवासीय चिकित्सक-Sutra News

फेरि सडक आन्दोलनमा उत्रिए आवासीय चिकित्सक

बुधबार, १६ माघ २०८१

बुधबार, १६ माघ २०८१

काठमाडौं । निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् । विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले संयुक्त रुपमा निर्णय गरेको भन्दै स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार २४ घण्टे चेतावनी दिएका थिए । उनीहरूले उक्त निर्णय फिर्ता नलिए अत्यावश्‍यक बाहेकका सबै सेवाहरू बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

दुवै मन्त्रालयले गरेको निर्णय अनुसार निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकको पारिश्रमिक तीन वर्षे अध्ययन अवधिमा फरक–फरक हुने उल्लेख छ । उक्त निर्णयअनुसार पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो ।

यस प्रस्तावले आवासीय चिकित्सकलाई चोट पुर्‍याउने काम गरेको उनीहरुको गुनासो छ । सोमबार नै आवासीय चिकित्सकहरूले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका थिए । मंगलबार उनीहरूले चिकित्सा शिक्षा आयोग घेराउ गरेका थिए ।

पूर्वसहमति र चिकित्सा शिक्षा आयोगले यसअघि नै गरेको निर्देशनअनुसार सरकारी मेडिकल कलेजका आवासीय चिकित्सकसरह पारीश्रमिक दिनुपर्ने माग उनीहरूको छ । निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले बताए ।

उनका अनुसार निजी मेडिकल कलेजमा चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सरकारीसरह गर्नुपर्ने विषयमा देशभरका ४० वटा अस्पताल तथा शिक्षण संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सामूहिक र संस्थागत रूपमा ऐक्यवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट