इन्टरनेट सेवामा ७ कम्पनीको पकड, कुनको ग्राहक संख्या कति ?-Sutra News

इन्टरनेट सेवामा ७ कम्पनीको पकड, कुनको ग्राहक संख्या कति ?

बुधबार, १६ माघ २०८१

बुधबार, १६ माघ २०८१

काठमाडौं । सूचना प्रविधिको बढ्दो विकाससँगै इन्टरनेट प्रयोगकर्ता पनि थपिँदै गएका छन् । जससँगै इन्टरनेट सेवा प्रदायकका पनि ग्राहकहरू बढ्दै गइरहेका छन् ।



नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएअनुसार चालु आर्थिक वर्षको पौष महिनासम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक २९ लाख ८४ हजार नाघेका छन् । जुन गत असारको भन्दा झन्डै डेढ लाखले बढी हो । गत असारसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्या २८ लाख ४ हजार थिए ।

प्राधिकरणका अनुसार हाल २१ इन्टरनेट सेवा प्रदायकले सेवा दिइरहेका छन् । जसमा सबैभन्दा बढी वर्ल्डलिंक कम्युनिकेसन ग्राहक छन् ।

पौषसम्म वर्ल्डलिंकका ग्राहक ९ लाख ६५ हजार ३७ पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत असारमा वर्ल्डलिंकका इन्टरनेट प्रयोगकर्ता ९ लाख १८ हजार २०५ थिए । कुल इन्टरनेट प्रयोगकर्तामध्ये ३२.३३ प्रतिशत ग्राहक वर्ल्डलिंकमा मात्रै भएको प्राधिकरणले जनाएको छ ।

वर्ल्डलिंकपछि सबैभन्दा बढी प्रयोगकर्ता भएको कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी परेको छ । जसको इन्टरनेट प्रयोगकर्ताको संख्या ३ लाख ४८ हजार ३६२ पुगेको छ । जसका फाइबर प्रयोगकर्ता ३ लाख १८ हजार ९५७ पुगेका छन् भने एडिएसएल १ हजार ८८२ र वायरलेस प्रयोगकर्ता २७ हजार ५२३ पुगेका छन् । जसले कुल प्रयोगकर्ताको ११.६७ प्रतिशत हिस्सा आगट्ने प्राधिकरणले जनाएको छ ।

यसैगरी डिस मिडिया नेटवर्क तेस्रो ठूलो ग्राहक भएको कम्पनी हो । जसको ग्राहक संख्या ३ लाख ३६ हजार पुगेका छन् । जुन कुल प्रयोगकर्तामध्ये ११.२७ प्रतिशत हो ।

प्राधिकरणका अनुसार सुविसु केवल नेटका ग्राहक ३ लाख ८ हजार पुगेको छ भने भायोनेटका ग्राहक २ लाख १८ हजार पुगेको छ । यसैगरी, वेब सफर नेपालका ग्राहक १ लाख ८४ हजार पुगेको छ भने क्लासिक टेकको ग्राहक १ लाख ७४ हजार ५ सय पुगेको छ ।

टेक माइन्डस् नेटवर्कको ८२ हजार ग्राहक संख्या पुग्दा सिजिको ७६ हजार पुगेको छ भने फाइबर वल्र्ड कम्युनिकेसन्सको ४८ हजार पुगेको छ ।

ग्राहक संख्या बृद्धिमा डिसहोम आक्रामक

२०७८ प्रभु टिभीसँग मर्ज हुनुभन्दा अघि डिस मिडिया नेटवर्कको खास ग्राहक थिएनन् । तर, प्रभु टिभीसँग मर्ज भएसँगै डिस मिडियाका इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढे ।

मर्जपछि पौष २०७८मा ५४ हजार ग्राहक संख्या भएकोमा डिस मिडियाले तीन वर्षको अवधिमा नै झन्डै तीन लाखले संख्या वृद्धि गरेको छ । जसअनुसार गत पौषसम्म डिस मिडियाको ग्राहक संख्या ३ लाख ३६ हजार पुगेको छ ।

अन्य कम्पनीको तुलनामा डिस मिडियाको ग्राहक तुलनात्मक हिसाबले सबैभन्दा बढीको दरले वृद्धि भइरहेको छ ।

नोट : तथ्यांकमा यसअघि अन्यथा भएकोमा सच्याइएको छ । धन्यवाद – सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट