पूर्वराष्ट्रपति भण्डारी एमालेलेमा सक्रिय हुने सम्भावना छैन : उपमहासचिव ज्ञवाली-Sutra News

पूर्वराष्ट्रपति भण्डारी एमालेलेमा सक्रिय हुने सम्भावना छैन : उपमहासचिव ज्ञवाली

बुधबार, १६ माघ २०८१

बुधबार, १६ माघ २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा पुनरागमनको चर्चा चलिरहँदा उपमहासचिव प्रदीप ज्ञवालीले भने उनी पार्टीमा सक्रिय हुने सम्भावना नरहेको बताएका छन् । प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रध्यक्षहरू पार्टीको सक्रिय राजनीतिमा आउनुलाई राम्रो नहुने बताए ।



‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ,’ ज्ञवालीले भने । उक्त विषयमा पूर्वराष्ट्रपति भण्डारी सचेत नै भएको जस्तो आफूलाई लागेको पनि ज्ञवालीले बताए ।

उनले पार्टी अध्यक्षकै इच्छा विपरित प्रतिस्पर्धा गर्नेगरी राजनीतिमा आउन लागेको भन्ने कुरा सहि नभएको दाबी गरे । ‘असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भूमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै छलफल गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘अहिले तत्कालै उहाँ सक्रिय राजनीतिमा फर्कनुहुन्छ अथवा केही साथीहरूले भनेजस्तो पार्टी अध्यक्षकै इच्छा विपरित स्पर्धा नै गर्नेगरी आउन खोजेको भन्ने कुरा सहि होइन । उहाँको त्यो भनाइ पनि होइन ।’

भण्डारीले नै देशले मागेको बेलामा जुनसुकै भूमिकाका लागि तयार भएको भन्दै अहिले गरिएका चर्चाहरू अनुमान मात्रै भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट