काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेल अन्तर्गत नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित भएको छ । आज भएको खेलमा नेदरल्याण्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि सीता रानाले २८, कविता जोशीले २७ तथा पूजा महतोले २४ रन जोडिन् । रुविना क्षेत्रीले ११ रन जोडेको खेलमा सम्झना खड्का ९, कप्तान इन्दू वर्मा ७ तथा कविता कुँवरले ८ रन जोडिन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोडेको थियो ।
नेदरल्याण्डस्का लागि रोबिन रिजोर्कले अर्धशतक प्रहार गरिन् । रोबिन रिजोर्कले ४८ बलमा ८ चौकाको मद्दतमा ५९ रन जोड्दा इरिस जिग्लिङले नटआउट १३ बलमा ५ चौकोको मद्दतमा ३१ रन जोडिन् । त्यस्तै स्टिरि कलिसले २९ रन जोडेको खेलमा हेटर साइग्रेसले २३ रन थपिन् ।
बलिङतर्फ नेपालकी पूजा महतो, कविता कुँवर, इश्वरी विष्ट र सीता राना मगरले समान १ विकेट लिए । आजको खेलबाट नेपालका लागि दुई खेलाडीले डेब्यू गरेका छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।
एलिशा नेपालको यू-१९ विश्वकप टोलीमा थिइन् भने मनिषाले यसअघी यू-१९ टोलीबाट खेलेकी थिइन् । उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् । आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने श्रृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् ।
यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्याण्ड पनि छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० श्रृङ्खलाको पूर्व सन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो ।