काठमाडौं । बाहिर व्यवस्थापनमा चुस्त भनेर चर्चा चलाउने एनएमबी बैंक भित्रबाट भने क्रमशः धोल्लिँदै जान थालेको पाइएको छ । सेलिब्रेटी शैलीका बैंक सञ्चालकहरूको मनोमानीका कारण बैंक समस्यामा पर्न थालेको हो ।
वित्तीय विवरणलाई केलाउँदा, बैंकको अवस्था क्रमशः समस्याग्रस्त हुँदै गएको देखिन्छ । मनपरी लगानीका कारण एकातिर बैंकमा गैरबैंकिङ सम्पत्ति उच्च तहमा बढेको छ भने अर्कोतिर खराब कर्जा चुलिँदै गएको देखिन्छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनअनुसार बैंकको खराब कर्जा नै ८ अर्ब ६६ करोडभन्दा माथि पुगेको छ । सँगै, गैरबैंकिङ सम्पत्ति पनि १ अर्ब ३ करोड नाघेको छ ।
वित्तीय अवस्था खराब हुँदै जाँदा दुई आर्थिक वर्षदेखि नै बैंकले लगानीकर्तालाई पनि हात खाली बनाइरहेको छ ।
बढ्दो खराब कर्जाको सकस
बैंकको वित्तीय विवरणलाई केलाउँदा बैंकको खराब कर्जा निरन्तर उकालोमा छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अघिल्लो वर्षको सोही अवधिको भन्दा झन्डै दोब्बरले बढेको छ ।
गत वर्षको दोस्रो त्रैमासमा २.८६ प्रतिशत खराब कर्जा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा थप ३८.४६ प्रतिशतले बढ्दै खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ । विवरणअनुसार खराब कर्जा ८ अर्ब ६६ करोड रुपैयाँमाथि पुगेको छ । जुन क्रमशः बढ्दो क्रममा देखिन्छ ।
जसको कारण बैंकको कर्जा नोक्सानी शुल्क (इम्पेयरमेन्ट चार्ज) पनि बढेको छ । विवरणअनुसार पौषमा मात्रै बैंकले इम्पेयरमेन्ट चार्ज शीर्षकमा ३८ करोड १८ लाख रुपैयाँ छुट्टाएको छ ।
यद्यपि, बैंकको विवरणलाई केलाउँदा इम्पेयरमेन्ट चार्ज शीर्षकमा नै गोलमाल देखिन्छ । निष्क्रिय कर्जा बढ्दै जाँदा बैंकहरुको इम्पेयरमेन्ट चार्ज पनि बढ्दै जान्छ ।
मनपरी लगानीका बिच बैंकको सम्भावित कर्जा नोक्सानीबापतको व्यवस्थापन रकम (लोन लस्ट प्रोभिजन) पनि अनौठो शैलीमा बढेको छ । राष्ट्र बैंकको विवरणअनुसार बैंकले मंसिरसम्म मात्रै २ अर्ब २३ करोड रुपैयाँ लोन लस्ट प्रोभिजनमा रकम छुट्टाएको छ ।
बैंकले २ आर्थिक वर्षदेखि दिन सकेन लाभांश
बैंकको आन्तरिक अवस्था सुद्धढ नहुँदा बैंकले लगानीकर्तालाई लाभांश दिन सकिरहेको छैन । आर्थिक वर्ष २०७८/०७९ मा ८.२५ प्रतिशत नगद लाभांश दिएको बैंकले पछिल्लो दुई आर्थिक वर्षदेखि लगातार लगानीकर्ताको हात खाली बनाइरहेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा मुनाफा वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको बैंकले आर्थिक वर्ष २०८०/०८१ मा भने कारण नखुलाई लाभांश वितरण नगर्ने निर्णय सुनाएको थियो ।
तर, दुई वर्षसम्म लाभांश वितरण नगर्दा पनि बैंकको लाभांश वितरण क्षमता राम्रो छैन । बैंकको रिटर्न अनरिङ शीर्षकमा उपयुक्त रकम देखिएको छैन भने हालको दोस्रो त्रैमासको वितरण योग्य नाफा आशातीत देखिन्न ।
दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनलाई हेर्दा, जम्मा वितरण योग्य नाफा प्रतिशेयर १०.२५ रुपैयाँ मात्रै देखिन्छ । जुन लगानीकर्ताको लागि कदापि उत्साहजनक होइन ।
केसीले नेतृत्व पाए तर, उँभो लागेन बैंक
एनएमबी बैंक प्रवेश गरेको ८ वर्षपछि सुनील केसीले १ चैत २०७७ मा सिइओको जिम्मेवारी पाएका थिए । सेलिब्रेटी शैलीबाट आकर्षित बैंकका तत्कालीन अध्यक्ष पवन गोल्याणले केसीलाई सिइओको जिम्मेवारी दिएका थिए ।
सिइओको जिम्मेवारी पाएपछि केसीको सेलिब्रेटी शैलीमा त चाँद लाग्यो तर, बैंकको आन्तरिक व्यवस्थापन भने निरन्तर खस्किँदै गयो । पछिल्लो ६ आर्थिक वर्षको विवरणलाई हेर्दा, बैंक क्रमशः ओरालो यात्रामा देखिन्छ ।
एकातिर बैंकभित्र चरम बेथिति भित्रिएको छ भने अर्कोतिर क्रमशः बैंकको शाख गिर्दो छ । बैंकको वित्तीय स्थिति राम्रो नभइरहँदा बाहिर बैंकका नाममा बदनामी कमाउने घटना पनि एकपछि अर्को गरी घटिरहेका छन् ।
पछिल्लो चरणमा आउँदा बैंकको खाताबाटै करोडौं रकम हराउने अवस्था बन्नु व्यवस्थापनको चरम लापरबाही हो । बैंकले सिस्टममा आएको खराबीको कारण सो अवस्था आएको बताएको छ । यद्यपि, यो सामान्य घटना होइन । जसका मुख्य जिम्मेवार स्वयम् सिइओ केसी नै हुन् ।
स्मरणरहोस्, विगतमा पनि नाफा बढी देखाउन बैंक नेतृत्वले विभिन्न फण्डा गर्दै आएका थियो । जसमा आर्थिक वर्ष २०७९/०८० दोस्रो त्रैमासिकको वित्तीय विवरणमा गरिएको हेरफेरको घटना निकै रोचक छ ।
तत्कालीन समय नाफा बढी देखाउन बैंकले नोक्सानीको रकम नै झन्डै १ अर्ब रुपैयाँले घटाएर केन्द्रीय बैंकमा विवरण पेस गरेको थियो । तर, राष्ट्र बैंकले कारबाही गरेपछि बैंकले वास्तविक विवरण अर्थात् ३ अर्ब ६० करोड नोक्सानी देखाएको थियो ।
वित्तीय विवरणमा एनएमबी बैंक
चालु आबको दोस्रो त्रैमासको नाफा : २ अर्ब ३५ लाख रुपैयाँ
कुल खराब कर्जा : ८ अर्ब ६६ करोड रुपैयाँ
इम्पेयरमेन्ट चार्ज : ३८ करोड १८ लाख
लोन लस्ट प्रोभिजन : २ अर्ब २३ करोड रुपैयाँ
कुल गैरबैंकिङ सम्पत्ति : ९२ करोड रुपैयाँ (मंसिरसम्म)
न्यायाधिकरणमा मुद्दा : २४ वटा (दाबी रकम : ३२ करोड ६४ लाख रुपैयाँ ।)
वितरणयोग्य नाफा : १०.२५ रुपैयाँ (१ अर्ब ३३ करोड)
प्रतिशेयर आम्दानी : २१.९२ रुपैयाँ
सम्बन्धित समाचार
बैंकहरुभित्र गाँजिँदै बेथिति : सिटिजन्सपछि एनएमबिमा गम्भीर बदमासी