क्यालिफोर्निया । विगत दुई वर्षखि एकनासले चलिरहेको थियो दैनिकी । सदाको जस्तै आज पनि म तीन चार दिन अघि पाकेको बासी भात प्लास्टिकको भाडामा प्याक गरेर काम गर्न गए । उही काम । उही ठाउँ । उस्तै समय । तर मलाइ आजको बिहान अलि फरक लाग्यो, किन भने म ग्रोसरी स्टोरमा काम गर्छु । जहाँ खाध्यन्न, जाड रक्सि, खैनी, चुरोटदेखि लिएर औषधिसम्म पाइन्छ ।
मैले काम गर्ने एरियामा धेरै मेक्सिकोबाट आएका नागरिकहरु छन् । जो अमेरिकी देशका कुल्ली हुन् । उनीहरु अमेरिकीहरुले नगर्ने या भनौ गर्न नसक्ने कामहरु गर्छन् । उनीहरु अमेरिकीहरुको आगनको झार उखाल्नेदेखि अमेरिकी बस्ने घर बनाउनेसम्मको काम गर्छन् । अमेरिकाको बिकास गर्न र अमेरिकाको प्रगतिको लागि तिनको रगत, आँसु, पसिना सब त्यहिको माटोमा मिलेको छ।
आज अमेरिका जुन उचाइमा छ त्यस्को पछाडी लाखौं आप्रवासीको पनि हात छ। यो मुलुकको बिकास हुनको लागि अमेरिकी नागरिक मात्रको योगदान छैन । छिमेकी देश मेक्सिकोका नागरिक र अन्य विभिन्न देशका नागरिकको योगदान रहेको छ जसमा हामी नेपालीहरुको पनि योगदान छ।
आप्रवासी धेरै रहेको र राष्ट्रपति पनि आप्रवासी भएको देश अमेरिकामा यति बेला धेरै नागरिक कठिन अबस्थामा छन् । ट्रम्पले राष्ट्रपति पदको सपथ लिएको दिन देखि कागजपत्र बिहिन नागरिकहरु जो विभिन्न देशबाट अमेरिकामा आएर श्रम गरिरहेका छन् तिनीहरू यतिबेला ठुलो संकटमा छन।
ट्रम्पको आप्रवासी प्रतिको अभिव्यक्ति र व्यबहारले सबैको निद हराम भएको छ । अघिल्लो पटक राष्ट्रपति हुँदा पनि ट्रम्पले कागजपत्र बिहिन आप्रवासीलाइ देश निकाला गरेका थिए । ट्रम्प र ट्रम्पभन्दा पहिलाका राष्ट्रपतिहरुले पनि आप्रवासीलाई देश निकाला गर्ने बिषयलाई जोड दिएका थिए । तर त्यति बेला भन्दा अहिले ट्रम्पले आप्रवासीलाई ठुलो निसाना बनाएर खोजी खोजी स्वदेश फिर्ता गराइ रहेका छन ।
सामाजिक सञ्जालको व्यापकताले ट्रम्पलाइ सफल बनाउन सहयोग गरेको छ । सपथ लिएको दिन नै ट्रम्पले धेरै जनालाई देश निकालेको खबर संजालमा छरपस्ट भएको थियो ।
त्यसपछिका दिनमा अहिले त झन व्यापक हल्ला भइरहेछ र अब दैनिकी रूपमा आप्रवासीहरु आफ्नै मुलुक फर्किदै छन । सन २०१६ मा पनि ट्रम्पले यसरि नै आप्रवासीको निद हराम गराएका थिए ।
म राजनीतिका कुरालाई त्यति चासो दिएर सुन्दिन र सोध्दिन पनि । यस पटक मैले नचाहेर पनि राजनीतिका कुरा सोध्नु पर्ने अनि सुन्नु पनि पर्ने थियो । अमेरिकाको राजनीतिको बारेमा मैले जती जनासँग सुने र सोधे तिनीहरुबाट मैले ट्रम्पको बारेमा राम्रो सुनेकी थिइन । ट्रम्प ठिक होईन तर ट्रम्पले नै जित्नु पर्छ भन्थे । कुरा सुनिरहे पनि मेरो मनले यस्ता कुरा मलाइ के काम भन्ने लाग्थ्यो र प्रतिक्रिया स्वरूप हासी दिन्थे ।
त्यती बेलाको हासो थियो । यतिबेला भने डर लागि रहेछ । जताततै ट्रम्पले सुराकी पठाएर मानिस पक्राउ गर्दैछन । बिद्यालय, कार्यालय, घर, बाटो जहाँ भेट्न सकिन्छ त्यहि हतकडी लगाएर स्वदेश फिर्ता पठाउने काम भैरहेको छ ।
त्यसैले पनि होला म बसेको ठाउँमा धेरै मेक्सिको बासी आप्रवासी छन । उनिहरु रोजगारिका लागि पैदल हिड्दै अमेरिकाको बोर्डर पार गरेर आएका हुँदा रहेछन् । आफ्नो देशमा जीवन गुजारा गर्न कठिन भएर छिमेकी देशमा गएर काम गर्दा रहेछ्न । उनिहरु एउटा कोठामा चार पाँच जना मिलेर बस्छन। दिनभरि मजदुरि गरेर दुई चार पैसा जोहो गर्ने रहेछन् ।
देश सम्पन्न या बिपन्न हुन या बनाउनको लागि छिमेकी देशका नागरिकहरुको पनि ठुलो भुमिका हुँदो रहेछ । अमेरिका जस्तो सम्पन्न देशको बिकास गर्नमा आप्रवासीको ठुलो योगदान छ र पनि अमेरिकी सरकारमा आउने सरकार प्रमुखको पहिलो राजनैतिक एजेन्डामा आप्रवासीहरुलाइ देश निकाला गर्ने योजना हुन्छ ।
देश निर्माणमा आफ्ना देशका नागरिकले भन्दा रोजगारिका लागि आएका अन्य देशका नागरिकहरुको योगदान महत्त्वपूर्ण रहेको हुन्छ तर यहाँको सरकारले त्यो कुरा कहिले मनन गरेनन्।
आप्रवासीहरु तल्लो स्तरमा रहेर काम गरिरहन्छन किनभने उनिहरुमा धेरै समस्या हुन्छ, जसमा पहिलो समस्या भाषा रहेको हुन्छ । बुद्धि प्रयोग गर्न नसकेर बल प्रयोग गरेर काम गर्ने भएकाले नै देशमा आप्रवासीको आवश्यकता रहन्छ ।
मेक्सिकोबासीहरु धेरै बल प्रयोग गरेर काम गर्ने भएकोले उनीहरुको पहिलो खान्की बियर हुँदो रहेछ । एकाबिहानै काम गर्न जाने बेलामा दिउँसोको खाना खाजाको लागि बियर चिप्स पाउरोटी जस्ता खानेकुरा किनेर लाने गर्थे । मैले काम गर्ने स्टोरमा आँखा मिच्दै बियर खानेकुरा किन्न आउने ती मेक्सिकनहरु आज आएका छैनन । म स्टोरमा पुग्नु भन्दा पहिले मलाइ कुरेर बस्ने ती मेक्सिकनहरुको सङ्ख्या एकाएक पातलिएको छ । चिसो मौसम अनि झरिका कारण पातलिएर बसेकाहरु पनि ट्रम्पको डरले रातारात सुरक्षित हुन लुकेर बसेका छन या हातमा हतकडि लगाएर स्वदेश फर्किनु पर्ला भनेर आफै स्वदेश गए ?
हेर्दा हेर्दै मलाई कुरेर बस्ने ती मेक्सिकनहरु हराएका छन । मलाइ कुरेर बस्ने ती मेक्सिकनहरुलाई आज म कुरेर बसेकी छु । चकमन्न छ मेरो मन अनि सडक ।