काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनपूर्व भएको ७ बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन् । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले ७ बुँदेमा कांग्रेसको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
विशेषगरी सरकारको भविष्यलाई लिएर अड्कलबाजी भइरहेको सन्दर्भमा देउवाले सत्ता नेतृत्वकर्ता नेकपा एमालेलाई आश्वस्त पार्ने गरी बोलेका छन् । “नेपाली कांग्रेस ७ बुँदे कार्यान्वयनमा द्धढ छ, यो सहमति कार्यान्वयन हुनेछ”, उनले भनेका छन्, “अन्य राजनीतिक दलहरूको पनि सहयोग रहनेछ भन्ने मैंले विश्वास लिएको छु ।”
७ बुँदेबारे बोलेका देउवाले सरकारको काम आशातीत रहेको बताएका छन् । उनले सरकारको ६ महिनालाई लिएर गरिएको टिप्पणी उपयुक्त नभएको बताए ।
“कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन, अहिले नै मूल्यांकन गर्नु उपयुक्त देखिन्न”, उनले भनेका छन्, “अहिले जे–जति भएको छ, आशातीत छन्, भविष्यमा यो सरकारले थप राम्रो काम गर्नेछ भन्ने लागेको छ ।”
सरकारले अध्यादेशमार्फत फास्ट ट्रयाकमा काम गरिरहेको भन्दै देउवाले सरकारको प्रशंसा पनि गरेका छन् । “अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले अध्यादेश ल्याएको छ, जसले आर्थिक वातावरणलाई व्यवस्थित बनाउन सहयोग पुग्नेछ भन्ने ठानेको छु”, उनले भनेका छन् ।
साथै, संसदमा विचाराधीन विधेयकहरूलाई पनि छिटोभन्दा छिटो टुंग्याउन देउवाले आग्रह गरेका छन् । “कानुन बनाउन ढिलाइ गर्नुहुन्न, यस विषयमा सांसदहरूको ध्यान आकृष्ट गराउन चाहन्छु, सरकारले पनि चाँडो विधेयकहरू पेश गरोस् भन्ने आग्रह गर्न चाहन्छु”, देउवाले भने ।
यसअघि संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यलाई लिएर भइरहेका टिप्पणीबारे बोलेका थिए । उनले सरकारको भविष्यलाई लिएर गरिएको चर्चा व्यर्थको भएको टिप्पणी गरेका थिए । सँगै, उनले वर्तमान सरकार २०८४ सम्म नै जाने बताएका थिए ।
“एउटा गीत बजारमा ढलेँ–ढलेँ भन्ने प्रचारमा छ । यो आमरुपमा विपक्षीले गाएको सुन्छु । ढल्यो, ढल्यो, ढल्यो । आज ढल्यो, भोलि ढल्यो, पर्सि ढल्यो । यो गीत मनोरञ्जनका लागि गाउँदा ठिक होला तर, राजनीति मञ्चमा गाएको सुहाएन । यो गीतको के नक्कल किन गरेको होला ? ढुक्क भए हुन्छ, ०८४ सम्म यो सरकार चलमल गर्ने छैन”, उनले भनेका थिए ।