काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साँधेर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आपत्ति जनाएका हुन् । उनले लामिछानेमाथिको व्यवहार नयाँ शक्ति सिध्याउने योजनामा केन्द्रित भएको बताए ।
रविमाथि अनुसन्धान अनियमित र अभियोजनलाई आग्रहपूर्ण बनाउने गरिएको भन्दै उनले जसले आममा वास्तविकता छर्लङ्ग पारेको बताए । सरकारले ‘ह्यार्यास गर्ने नियतले व्यवहार गरेको उनले बताए ।
“अनुसन्धान अनियमित गर्ने र अभियोजनलाई आग्रहपूर्ण गराउने काम घामजस्तै छर्लङ्ग छ । सबैलाई यो अति नै गरिएको भन्ने भएको छ”, उनले भनेका छन्, “पाँच/पाँच वटा जिल्लामा, यहीँ केन्द्रमै बसेर सिआईबीले प्रमाण जुटाएर अभियोजन गर्न सकिन्थ्यो । तर, ह्यार्यास गर्ने नियतले नै जसरी पाँच जिल्ला घुमाइयो योप्रति हाम्रो आपत्ति गरिएको छ ।”
उनले सहकारीसम्बन्धी अध्यादेश लामिछानेलाई नै लक्षित गरेर ल्याइएको उनले बताए । “एउटा व्यक्तिलाई केन्द्रित गरेर अध्यादेशमार्फत कानुन संशोधन गरिएको छ, लामो समय दुःख दिनकै निम्ति सांगठनिक अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन लगाइएको छ”, उनले भनेका छन् ।
वाग्लेले अरूलाई खनेको खाडलमा आफू पनि खस्न सक्ने बोध गर्न सत्तारुढ दललाई गराएका छन् । उनले भनेका छन्, “अरूका लागि खनेको खाडलमा आफू पर्छु भन्ने लाग्छ कि लाग्दैन ?”
रास्वपाले विगतमा अलपत्र पारिएका सबै प्रकरणमाथि छानबिन गराएरै छाड्ने गरी रास्वपाले दबाबमूलक कार्यक्रम गर्ने उनको भनाई छ । “सबै नेताहरूमाथि न्यायिक छानबिन गर्न आयोग बनाउन हामी दबाब दिन्छौँ, भुटानी शरणार्थी, वाइवडी, एनसेललगायतका काण्डको हामी खोजी गर्छौँ”, उनले भनेका छन् ।